प्रहरीको हत्यारालाई एमालेद्वारा प्रतिनिधि सभाको उम्मेदवारमा सिफारिस

काठमाडौं । एमालेको सिरहा क्षेत्र नं. १ ले प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका रामशंकर यादवलाई प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

एमालेका नेता यादवलाई अदालतले प्रहरीको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

एमालेले यादवले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ टिकटका लागि एकल उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

प्रहरी जवानको हत्या अभियोगमा सिरहा जिल्ला अदालतले यादवमाथि २०६१ सालमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । यादव अदालतले सजायको आदेश सुनाएपछि फरार रहेका थिए ।

यादवलाई प्रहरीले २०६९ सालमा पक्राउ गरेर अदालतमा बुझाएपछि जेल चलान गरिएको थियो ।

संविधान दिवसका दिन यादवलाई २०७६ सालमा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको झण्डै दुईतिहाई बहुमतको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले माफी दिएकी थिइन् ।

यादवको संयुक्त स्वामित्वमा रहेको यात्रुबाहक बसको विषयलाई लिएर विवाद भएको थियो । विवादमा हातहतियारसहित आएका एमाले नेता यादवले गोली चलाएका थिए ।

सुरक्षार्थ खटिएका प्रहरी जवान यमबहादुर बस्नेतको गोली लागेर मृत्यु भएको थियो ।

अदालतले यादवलाई कर्तव्य ज्यान मुद्दामा २०६१ माघ ६ गते सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

यादवलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २०६९ पुस ३ गते काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार यस्ता फौजदारी मुद्दा लागेका व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिएको छ ।

ऐनको दफा १३ को (ङ) मा संगठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएका व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिने उल्लेख छ ।

यो ऐनअनुसार यादवले राष्ट्रपतिबाट आममाफी पाएको ६ वर्ष पुगेको छैन ।

Published : Wednesday, 2022 September 7, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया