बालकोटमा बबाल हुने गरेर कांग्रेसले दियो चुनावको मुखमा ओली र एमालेलाई दह्रो जवाफ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले ५ दलीय गठबन्धनका विरुद्ध एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसहितका नेताहरूबाट आएको टिकाटिप्पणी र आलोचनाको खुलेर जवाफ दिएका छन् ।

आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा.महतले ओलीलाई आफूले गठबन्धन गर्दा स्वभाविक हुने र कांग्रेसले गर्दा अस्वभाविक देख्ने कार्यको आलोचना गरे ।

‘यो गठबन्धन किन गरिँदैछ ? भनेर विपक्षी दलका नेताहरूले प्रश्न उठाउनुभयो भन्ने विषयमा, माओवादी र कांग्रेसका बीचमा विचार अलग छ’, उनले भने, ‘यो गठबन्धन गर्दैछन् भन्नुको तत्पर्य, उहाँले यो भन्नु पर्‍यो कि हामी लोकतान्त्रिक होइनौं, एमालेसँग गर्दा स्वभाविक हुने, कांग्रेससँग गठबन्धन गर्दा अस्वभाविक देखिने ! हामी समग्र नेपालका पार्टीहरूलाई लोकतान्त्रिककरणको अभियानमा अगाडि बढाउन चाहन्छौं ।’

उनले भने, ‘त्यो प्रक्रिया जारी पनि छ । नेपाली कांग्रेसकै नेतृत्वमा निर्वाचनमार्फत जनताको विचारको अभिव्यक्ति हुनुपर्छ र जनताले जसलाई चाहन्छन् त्यो संसदमा पुग्नुपर्छ । उनीहरूले सत्ता सञ्चालन गर्नुपर्छ ।’

‘हामीले माओवादीसँग या अरु दलहरूसँग गठबन्धन गर्नुको मतलव कांग्रेस विचारबाट च्युत भएको, लोकतान्त्रिक मूल्य र मान्यताबाट च्युत भएको होइन कि अरु दलहरूलाई पनि मूल्य र मान्यतासँग सँगै हिँडाउने कोशिस गरिरहेका छौँ’, डा.महतले भने, ‘हामीले गरेको गठबन्धन अस्वभाविक हुने ? उहाँ (खड्गप्रसाद ओली)ले गरेका गठबन्धन स्वभाविक हुने भन्ने कुरा छैन । उहाँले (एमाले र ओली)ले जति नै कन्फ्युजन सिर्जना गर्न खोजे पनि लोकतान्त्रिककरणको अभियान कांग्रेसको अगुवाईमा भएको छ ।’

‘विस्तारै एमाले पार्टी लगायत हिजो २०४६ सालको अवस्थाबाट यहाँसम्म आएको छ’, उनले भने, ‘त्यसमा नेपाली कांग्रेसको धेरै ठूलो योगदान छ ।’

कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘गठबन्धनको बारेमा कांग्रेसभित्रै अन्यौल छ कि या भनाइ र गराईमा फरक कुराहरू आइरहेका छन् ।’

‘भित्र र बाहिर अलग–अलग कुरा आए भन्ने सवाल छ, यो विषय नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले सर्वसम्मतबाट पारित गरेको विषय हो’, उनले भने, ‘यसमा कुनै एक/दुई विषय यस्तो गरे पनि हुन्छ भन्ने आएको थियो होला । सबैको सहमतिमा यो गठबन्धनमा जानुको बिकल्प छैन ।’

उनले भने, ‘गठबन्धनको विषय टुंगी सकेको भनेर शेखर कोइरालाबाटै आएको छ ।’

‘हामीले गठबन्धन नगरे अरु कसैले गर्छ । त्यसको निम्ति उहाँहरू निरन्तर रुपमा लागिरहनुभएको छ’, डा.महतले भने, ‘ओलीजी लगायतका नेताहरू लाग्नुभएको सबैलाई थाहा छ । कांग्रेसले गठबन्धन नगरिदिओस्, हामीले गठबन्धन गर्छौं भन्नेछ ।’

‘गठबन्धन गर्ने कुरा कठिन छ । चुनौतीपूर्ण छ । हामी परिणाम ल्याउने कुरामा केन्द्रित ल्याउन कुरामा केन्द्रित छौँ’, उनले भने, ‘कति ज्यादा सिटमा उम्मेदवारी दिने ? कति ज्यादा सिटमा परिणाम ल्याउने ? महत्वपूर्ण कुरा त्यो हो ।’

उनले भने, ‘सिट बाँडफाँटको कुरामा केही समय लागेको छ । एक/दुई दिनमा टुंगो लाग्छ । सिट बाँड्ने कुरामा यथार्थमा उभिएर कुरा गर्नुपर्छ । उहाँहरूले पनि त्यो कुरा बुझिदिनुपर्छ । मतदाता र पार्टीका कार्यकर्ताले कसरी लिन्छन् त्यसमा भर पर्छ ।’

‘वास्तविक धरातलमा आएर काम गर्नुपर्छ । त्यो भयो भने मात्रै मत ट्रान्सफर हुन्छ । अन्यथा हुँदैन’, उनले भनेका छन् ।

‘कांग्रेसलाई कमजोर गर्ने गरेर स्वतन्त्र उम्मेदवार बन्ने कुरा भएको छ । यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर हुन सक्दछ’, उनले भनेका छन् ।

‘पार्टीको स्थानीय तहको निर्वाचनबाट पाठ सिक्ने कुरा छ । अवश्य पनि वडा, नगर, गाउँपालिकाको कुरा आउँदा त्यहाँका व्यक्तिको जति सामूहिक एकता हुन्छ त्यति उम्मेदवारका बारेमा जानकारी हुन्छ’, उनले भने, ‘विभिन्न ठाउँमा असन्तुष्टि पनि आएका छन् । वर्षौंसम्म पार्टी मा बस्यौँ । उम्मेदवार नबन्दा पार्टी छाड्छु भन्ने पनि थियो । हाम्रो पार्टीमा व्यक्तिवादी कुरा छ । मेरो के हुन्छ भन्ने भावना पनि छ । व्यवस्थापनको प्रश्न पनि जटिल बन्दै गएको छ । राम्रोभन्दा राम्रो दिने प्रयास हुन्छ । गठबन्धन भएपछि कतिपय ठाउँ छाड्नुपर्छ ।’

‘विजयीजीको विषयमा कुरा गर्नुभएको छभने प्रधानमन्त्रीले नै निर्णय गर्नुभएको थियो’, उनले भने, ‘त्यो मन्त्रीस्तरीय निर्णयबाट टुंगिएको विषय होइन । त्यसलाई मन्त्रिपरिषदले निर्णय गरेको विषय हो । विजयजीले प्रधानमन्त्रीको निर्देशनमा प्रस्ताव, त्यो पनि बालुवाटारमा प्रधानमन्त्रीको निवासको लागि आवश्यक जग्गा दिने विषयमा सरकारले सायद त्यो प्रश्ताव लैजानुभएको थियो ।’

उनले भने, ‘मन्त्रिपरिषदले त्यो निर्णय गरेको हो । त्यसमा आरोप लगाइएको छ । अदालतबाट निर्णय नै नभइकन हामी भ्रष्टाचारको निष्कर्षमा पुग्नु हुँदैन । माधव नेपालजी प्रधानमन्त्री हुनुहुन्थ्यो । मन्त्रिपरिषदको निर्णय नै प्रधानमन्त्रीले नभन्दैमा निर्णय हुँदैन ।’

कांग्रेसका प्रवक्ता डा.महतले भने, ‘मोहम्मद अफ्ताब आलमजीको पनि आरोप छ । आरोपमा निर्णय भएको छैन । आम कार्यकर्ताहरूले सिफारिस गरेर पठाउँदा रोक्न सकिदैन । त्यस कारण यो दुबै कुरा अनिर्णित भएकोले हामी निष्कर्षमा यो/यो व्यक्ति यस्तै हो पुग्न सक्दैनौँ ।’

कांग्रेसका प्रवक्ता डा.महतले आफूहरू प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए । उनले कांग्रेसले नै लोकतन्त्र बलियो बनाउन प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जबरजस्त अडान लिने गरेको बताए । प्रेस स्वतन्त्रताप्रति कांग्रेसको प्रतिवद्धतामा कुनै आशंका नगर्न डा.महतले आग्रह गरेका छन् ।

Published : Sunday, 2022 September 4, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया