बन्द गराउन हिँडेका विप्लवका कार्यकर्ताले मुख फुट्ने गरि दनक भेटे, जनताले नाङ्गेझार बनाए

काठमाडौं । कथित नेपाल बन्द सफल बनाउन सवारी साधन तोडफोडमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपाका कार्यकर्तालाई स्थानीयले ‘रामधुलाई’ गरेका छन् ।

मंगलबार बिहान बन्द गराउँदै हिँडेको आरोपमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा विप्लवका कार्यकर्ता २४ वर्षीय पल राउत रहेका छन् । राउत कालीकोट जिल्लाको नरहरिनाथ नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

विप्लवका कार्यकर्ता राउतलाई स्थानीयले गालाफुट्ने गरि दनक दिएका हुन् । कुटाइ खाने विप्लवका कार्यकर्ताको नाक फुट्नुका साथै मुखबाट समेत रगत आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

राउतलाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक, सह–चालक र स्थानीयले राउतलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

बन्द गराउँदै हिँडेका राउतले बसमा ढुंगा प्रहार गरेपछि आक्रोशित चालक र सहचालकसँगै त्यही जम्मा भएको स्थानीयले घेरेका थिए ।

स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख (एसपी) चक्रराज जोशीले भने, ‘बसको सिसा फोडेपछि कुटिएका हुन् । बन्द गर्ने भन्दै १५/२० जना सुरूमा भेला भएका थिए ।’

‘त्यहाँबाट प्रहरीले उनीहरूलाई उठाउन खोज्यो’, प्रहरी उपरीक्षक जोशीले भने, ‘केही मान्छे भागेछन् ।’

‘त्यसमध्ये यो एक जना पनि थिए’, उनले भने, ‘फेरि फर्किएर आएर बसमा ढुंगाले हिर्काएछन् ।’

प्रहरीले बनेपामा बन्द गर्न खोज्ने सात/आठ जनालाई नियन्त्रणमा लिएको छ ।

ठाउँठाउँमा बन्दकर्ताहरुले सार्वजनिक सवारीहरूमा तोडफोड गरेका छन् ।

Published : Tuesday, 2022 August 23, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया