१७ नम्बरमार्फत ‘फुस्किन’ खोज्दै यी हाईप्रोफाइल व्यक्ति

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसूरमा पुर्पक्षका लागि थुनामा रहेका अमित श्रेष्ठले धरौटीमा छुट्नका लागि उच्च अदालत पाटनमा १७ नम्बरमार्फत अपील गरेका छन् ।

अमतिको सुनुवाई आउने बिहीबार हुनेछ । उच्च अदालत पाटनमा १७ नम्बरको सुनुवाई प्रत्येक बिहीबार हुने गर्दछ ।

बैंक ऐनअन्तर्गतको कसूरमा पुर्पक्षका लागि डिल्लीबजारको खोरमा रहेका अमित विशाल सिमेन्टका पूर्वमालिक हुन् ।

अमितको लगानी र अकुत सम्पत्तिलाई लिएर प्रहरीले अनुसन्धान गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराइसकेको छ ।

प्रहरीले अमितविरुद्ध बलियो प्रमाण पेश गरेपछि जिल्ला अदालतले धरौटीमा छाड्न मानेन । अमितलाई छुटाउन हाइप्रोफाइल मानिसहरू लागेको चर्चा छ ।

अमितले विशाल सिमेन्टलाई बालकृष्ण भुसाललाई बिक्री गरिसकेका छन् । अमितले त्यस बेला विशाल सिमेन्टलाई प्रतिकित्ता १०४ रुपियाँका दरले बिक्री गरेका थिए ।

अमितले बालकृष्णलाई त्यस बेला विशाल सिमेन्ट अन्दाजी १ सय ४ करोड रुपियाँमा बिक्री गरेको बुझिएको छ ।

अमितले केही कानून व्यवसायी, उच्च तहका व्यक्ति, राजनीतिक नेतृत्व, पूर्व प्रहरीका अधिकृत, प्रशासन आदिलाई प्रयोग गरेर धरौटीमा छुट्ने प्रयास गरेको स्रोतले जनाएको छ ।

अमितलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौंको पत्रसाथ जिल्ला प्रहरी परिसर काठमाडौंमा दाखिला हुन आएपछि नुवाकोटको बिदुर नगरपालिका– २ घर भई हाल काठमाडौं– ३ पानीपोखरी बस्ने ४१ वर्षीय अमितलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । अमित हाल डिल्लीबजारको खोरमा छन् ।

अमितको हैसियतभन्दा धेरै पैसा, सम्पत्ति, घर, जग्गा, बैंक ब्यालेन्स भेटिएपछि अनुसन्धानका क्रममा रहेको प्रहरी चकित परेको छ ।

अमितले क्याण्डा, अष्ट्रेलिया लगायतका मुलुकमा नेपालको पैसा अबैध तरिकाले लगेर व्यवस्थापन गरेको आरोप छ ।

विगतमा अमितलाई तत्कालीन एआईजी हरिबहादुर पाल, निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, प्रभुशम्शेर जबरा, नुवाकोट कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीसहितका व्यक्तिले संरक्षण गरेको आरोप छ ।

अमितलाई चालेन्द्रको अबैध पैसा विदेशमा व्यवस्थापन गरेको आरोप पनि छ ।

अमितको साथबाट मोवाइल थान–२ र ल्यापटप थान–२ प्रहरीले बरामद गरेको थियो ।

‘नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग डिजिटल फरेन्सिक ल्यावबाट परीक्षण गरिँदा प्राप्त हुन आएको परीक्षण प्रतिवेदन प्रारम्भिकरुपमा विश्लेषण गर्ने क्रममा निज अमित श्रेष्ठको नाममा रहेको निम्न लिखित खाताहरूमा निम्न परिमाणको रकम रहेको पाइएको छ’, यसअघि जारी प्रहरीको विज्ञप्ति (प्रेस नोट)मा उल्लेख छ ।

(समाचारमा केही सच्याइएको छ –सम्पादक)

Published : Thursday, 2022 August 18, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया