सुजाता कोइराला मोरङ–२ बाट उम्मेदवार बन्ने, भनिन्– भावनात्मक सम्बन्ध जोडिएको छ

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ–२ बाट उम्मेदवार हुने बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘म गत पटक चुप लागें, किनभने बिरामी भएकोले मीनेन्द्र रिजाललाई उठ्नुस भनेर मैले नै भनेको हुँ तर, यसपटक म आफै उठ्छु ।’

नेतृ कोइरालाले पछिल्लो समय उक्त क्षेत्रमा आफ्ना गतिविधि बढाएको देखिएको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले समेत सुजातालाई नै लाइन दिएको दाबी गरिएको छ ।

देउवाको सम्बन्ध रिजालसित राम्रो छैन । देउवाले रिजाललाई उनले पार्टीमा समेत केन्द्रीय सदस्य मनोनीत गरेका छैनन् ।

‘क्षेत्र नं. २ सँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ, यो क्षेत्रको विकाश नै मेरो जिन्दगीको लक्ष्य हो’, नेतृ कोइरालाले भनेकी छिन् ।

कोइराला यसअघि संविधानसभाको निर्वाचनमा सुनसरीबाट उम्मेदवार भएर उपेन्द्र यादवसित हारेकी थिइन् । उनी त्यसपछि २ पटक समानुपातिक सांसद भएकी छिन् ।

२ पटक समानुपातिक सांसद भएपछि नेतृ कोइराला यसपटक त्यसैमा दोहोरिन पाउँदिनन् । त्यसैले नेतृ कोइरालाले मोरङ–२ मा गतिविधि बढाएकी छिन् ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् सांसद रिजालले कुन क्षेत्रबाट उम्मेदवारी दिने हुन् केही भनेका छैनन् ।

बिहीबार पनि मोरङ क्षेत्र नं. २ कांग्रेसले कार्यक्रम गरेको थियो । कार्यक्रममा नेतृ कोइराला सहभागी भएकी थिइन् ।

त्यस क्रममा नेतृ कोइरालाले भनेकी छिन्, ‘यो क्षेत्रसंग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ । मोरङ क्षेत्र नं. २ को बिकाश नै अब मेरो जीवनको उदेश्य हुनेछ ।’

Published : Thursday, 2022 August 11, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया