बाबुराम–नारायाणकाजीले ‘ल्याङ’ गरेपछि गोरखा– २ मा कांग्रेसले दियो चेतावनी, पाण्डे मैदानमा उत्रिए
बाबुराम र नारायणकाजीले तोकेपछि कांग्रेस नेता पाण्डेको शक्तिशाली चेतावनी
गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा संसदीय दलका पूर्व नेता सुरेन्द्रराज पाण्डेले गोरखा जिल्लाको सिट बाँडफाँटमा बुद्धिमता देखाउन नेतृत्वसँग आग्रह गरेका छन् ।
बिहीबार गोरखामा पत्रकार सम्मेलन गरेर नेता पाण्डेले यदि केन्द्रीय नेतृत्वले जनचाहना र जनभावना नबुझेर अस्वभाविक निर्णय गरेमा असहज परिस्थितिलाई आफूले चाहेर पनि काबुमा लिन नसक्ने चेतावनी दिएका छन् ।
‘यदि असहज परिस्थिति आएमा म के गरौंला त्यो आफ्नो ठाउँमा छ तर मैले सहज रुपमा लिन प्रयास गर्दागर्दै पनि परिस्थिति सहज नहुन सक्छ’, उनले चेतावनीशैलीमा भनेका छन्, ‘मैले शुरुमा पनि भने त्यो अवस्थामा हामीले हाम्रा कार्यकर्तालाई कन्ट्रोल गर्न नसक्ने अवस्था पनि आउन सक्छ ।’
आफूले यस विषयमा सभापति शेरबहादुर देउवालाई पनि अवगत गराएको उनले बताएका छन् ।
गोरखाको क्षेत्र नं. २ सिट बाँडफाँटका हिसाबले धेरै समस्याग्रस्त रहेको उनले बताएका छन् ।
नेता पाण्डेले क्षेत्र नं. २ शीर्ष नेताहरूको क्षेत्र भएकाले गठबन्धन दलबीच क्षेत्र बाँडफाँटमा समस्या भएको बताए ।
आफूसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको क्षेत्र भएकाले कुन पार्टीलाई दिने भन्नेमा समस्या रहेको नेता पाण्डेले बताएका छन् ।
‘बाबुराम भट्टराईले आफ्नो पार्टीलाई पनि गठबन्धनभित्र समेट्न लबिङ गरिरहनुभएको छ’, नेता पाण्डेले भने, ‘गठबन्धनभित्र समेटिएको खण्डमा उहाँको चाहना पनि आफ्नै क्षेत्रबाट चुनाव लड्ने हुनसक्छ ।’
‘नारायणकाजी श्रेष्ठजीको पनि राष्ट्रिय सभा छाडेर प्रतिनिधिसभामा चुनाव लड्ने चर्चा चलिरहेको छ’, उनले भने, ‘नेपाली कांग्रेसले पनि गठबन्धनका नाउँमा सधै अरु पार्टीलाई सो क्षेत्र छाडिरहेकाले यसपटक छाड्न नहुने जनदवाव छ ।’
उनले गोरखाको हकमा माओवादी र कांग्रेस मात्र गठबन्धन गर्ने र दुइटा प्रतिनिधिसभा क्षेत्रमध्ये एकवटामा भागबण्डा गर्नेबारे आन्तरिक समझदारी बनेको बताएका छन् ।
‘दुइटा प्रतिनिधिसभा क्षेत्रमध्य कांग्रेस र माओवादीले एक–एकवटा लिने, चारवटा प्रदेशसभाको क्षेत्रमध्ये दुईदुईवटा लिने भन्ने अनौपचारिक समझदारी भएको छ’, उनले भनेका छन् ।
क्षेत्र नं. १ बाट माओवादीका उम्मेदवार उठाउने र क्षेत्र नं. २ कांग्रेसका उम्मेदवार उठाउने भन्ने अनौपचारिक कुराकानी भएको कांग्रेस नेता पाण्डेले बताएका छन् ।
नेपाल समाजवादी पार्टी पनि गठबन्धनभित्र सामेल भएमा सिट बाँडफाँटमा जटिलता आउने उनले बताएका छन् ।
नारायणकाजी श्रेष्ठ पनि अहिले राष्ट्रिय सभा सांसद भएकाले चारवर्षे अवधि छाडेर प्रतिनिधिसभा चुनावमा आउन उचित नहुने पाण्डेले बताएका छन् ।
‘२०७४ को चुनावमा कांग्रेसको भोटले प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठलाई हराएर चुनाव जितेको भोलिपल्टै भाषणमा कांग्रेसलाई म्युजियममा राख्नुपर्छ भनेर भाषण गरेपछि बाबुराम भट्टराईसित कांग्रेस यति कुँडिएका छन् कि, हामीले सम्झाएर कोही पनि सम्झिनेवाला कोही छैनन्’, उनले भनेका छन् ।
‘अनि नारायणकाजी श्रेष्ठजी, प्रतिनिधिसभामा चुनाब हारेर फेरि राष्ट्रिय सभा सदस्य बन्नुभयो’, नेता पाण्डेले भने, ‘अहिलेफेरि राष्ट्रिय सभा छाडेर प्रतिनिधि सभामा आउने हल्ला बाहिर फिँजाइरहनु भएको छ ।’
‘नेताले चाहे भने मुलुकमा जे–जे मनलाग्छ, त्यही–त्यही गर्न सक्छन् भन्ने पुष्टि गर्न खोज्दै हुनुहुन्छ’, उनले भने, ‘यसले नयाँ पुस्तालाई राजनीतिप्रति घृणा पैदा गर्छ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया