गृहमन्त्री खाणद्वारा सशस्त्र प्रहरीलाई उपकरण र सवारी साधन हस्तान्तरण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बल नेपाललाई विपदमा प्रयोग हुने विभिन्न उपकरण तथा सवारी साधन हस्तान्तरण गरेका छन् ।

शनिबार काठमाडौंमा खाणले सबै सामग्री सम्बन्धित ठाउँमा पु¥याउन र जनधनको क्षति कम गर्न खोज तथा उद्धारमा ती सामग्रीहरूको सदुपयोग गर्न निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट विभिन्न समयमा प्राप्त उपकरणहरूले सशस्त्र प्रहरी बल नेपालको खोज तथा उद्धार क्षमता अभिबृद्धि भएको बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका आठ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स, एम्बुलेन्समा भन्टिलेटर अल्ट्रासाउण्ड उपकरण तथा ‘ए क्लास’का एम्बुलेन्समा हुने सबै खालका उपकरणहरू समेत जडान गरिएको छ ।

यसमा ६ वटा बेड छन् भने केहीलाई कुर्सीमा राखेर उपचार गर्न सकिन्छ ।

नेपालमै पहिलो विपद् सामूहिक उद्धार एम्बुलेन्सहरूमा सीसीटिभी क्यामेरा जाडान गरिएकाले टाढा रहेका विशेषज्ञ चिकित्सकहरूले समेत उपचारमा गाईड गर्न सक्छन् ।

मोबाईल अस्पतालका रुपमा समेत प्रयोग गर्न सकिने यी साधनहरु सातवटै प्रदेशमा एक–एक वटाका दरले बितरण गरिनेछ ।

एउटा काठमाडौं उपत्यकामा रहने एउटा एम्बुलेन्स सशस्त्र प्रहरी बल नेपालद्वारा संचालित नेपाल एपीएफ अस्पतालसँगको समन्वयमा संचालन हुनेछ ।

भूकम्प, बाढी पहिरो, आगलागी जस्ता विपदका घटनापछि खोज तथा उद्धार कार्यका लागि आवश्यक पर्ने ६२ प्रकारका खोज तथा उद्धार उपकरणहरु पनि हस्तान्तरण गरिएका छन् ।

Published : Saturday, 2022 July 23, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया