मेडिकल कलेजहरूमा स्वास्थ्य वीमाको सेवा स्थगन, सरकारी नीतिले बिरामीलाई तनाब

काठमाडौं । मेडिकल कलेजहरूले स्वास्थ्य वीमा कार्यक्रमको नयाँ नीतिले गर्दा समस्या भएको भन्दै वीमा कार्यक्रम स्थगन गरिएको जनाएका छन् ।

मेडिकल कलेजहरूले अलग–अलग विज्ञप्ति जारी गरेर साउन १ गतेदेखि स्वास्थ्य वीमा कार्यक्रमको सेवा स्थगन भएको जनाएका हुन् ।

सरकारको नयाँ नीतिले गर्दा बिरामीले स्वास्थ्य वीमाअन्तर्गतका सेवा मेडिकल कलेज वा निजी अस्पतालहरूमा सो सेवा लिएवापत वीमाबाट भुक्तानी गर्न पाउनेछैनन् ।

‘नेपाल सरकार, स्वास्थ्य वीमा बोर्डबाट सञ्चालित स्वास्थ्य वीमा कार्यक्रमअन्तर्गत वीमा गरेका बिरामीलाई चितवन मेडिकल कलेजले २०७३ भदौ महिनादेखि नै गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेकोमा नेपाल सरकारको आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमार्फत वीमा कार्यक्रम २०७९ साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने भनि पारित गरिएको हँदा यस चितवन मेडिकल कलेजले हाल रेफरल स्वास्थ्य संस्थाको रुपमा उपलब्ध गराउँदै आएको बहिरङ्ग, अन्तरङ्ग लगायत आकस्मिक अन्तर्गत दिइने सम्पूर्ण स्वास्थ्य वीमा कार्यक्रम असार ३२ गते राति १२ बजेसम्म मात्र लागू भई सो समय पश्चात साउन १ गतेबाट सेवा स्थन गरिने व्यहोरा सम्पूर्ण वीमित बिरामी तथा बिरामीका आफन्तमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

विराटन मेडिकल कलेज टिचिङ हस्पिटल, बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, चितवन मेडिकल कलेज, देवदह मेडिकल कलेज एण्ड रिसर्च ईन्स्च्युटलगायतले एउटै व्यहोराको सूचना जारी गरेर वीमा कार्यक्रमको सेवा स्थगन भएको जनाएका हुन् ।

Published : Wednesday, 2022 July 20, 9:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया