महिला र पैसाले खटपट भएपछि सहकारीका अध्यक्ष र पूर्वउपाध्यक्ष पक्राउ
काठमाडौं । प्रहरीले सहयोगी वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ललितपुरका अध्यक्ष अनिल श्रेष्ठलाई हातहतियार तथा खरखजाना अभियोगमा पक्राउ गरेको छ ।
अनिलले आफ्नै म्यानेजरको स्कुटरमा गोलीसहितको पेस्तोल राखिदिएको आरोपमा पक्राउ परेको ललितपुर प्रहरीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सहकारीका म्यानेजर श्यामकृष्ण श्रेष्ठ पक्राउ परे पनि अनुसन्धानका क्रममा उनलाई आफ्नै अध्यक्ष अनिलले फसाएको प्रारम्भीक अनुसन्धानबाट खुलेको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताएका छन् ।
महालक्ष्मी नगरपालिका ८ लुभुका सहकारीका म्यानेजर ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ असार १३ गते पक्राउ परेका थिए ।
श्यामकृष्ण चढ्ने प्रदेश ३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरमा २ राउण्ड गोलीसहितको पेस्तोल फेला परेको थियो ।
उनलाई फसाउन अध्यक्ष अनिल र पूर्वउपाध्यक्ष अख्खनदास श्रेष्ठले पेस्तोल राखेको खुलेसँगै उनीहरू पक्राउ परेका हुन् ।
श्यामकृष्ण भने निर्दोष रहेको पाइएपछि छाडिएको ललितपुर प्रहरीले जनाएको छ ।
बहुविवाहको मुद्दाका कारण उनीहरूबीच दुस्मनी शुरु भएको अनुसन्धानका क्रममा खुलेको विज्ञप्तिमा उल्लेख छ ।
अनिलले सर्लाहीका शिवजी महतोकी श्रीमती सरस्वती खत्रीलाई भगाएका थिए ।
दोश्रो विवाह गरेपछि अनिल र सरस्वतीविरुद्ध २०७८ चैत १७ गते ललितपुरमा जाहेरी दर्ता भएको थियो ।
अनिलले सहकारीबाट आफ्नो र परिवारको नाममा २ करोड ९५ लाख रुपियाँ कर्जा पनि लिएको प्रहरीले जनाएको छ । ब्याज माग गरेपछि उनीहरूका बीच मनमुटाव शुरु भएको थियो ।
अनुसन्धानबाट खुल्न आएका तथ्यहरु
• अभियुक्त अनिल श्रेष्ठ सहयोगी वहुउद्देश्यीय सहकारी संस्था लि.को बर्तमान अध्यक्ष, अख्खनदास श्रेष्ठ निबर्तमान उपाध्यक्ष र श्यामकृष्ण श्रेष्ठ सोही संस्थाको ब्यवस्थापक रहेको ।
• अभियुक्त अनिल श्रेष्ठले सर्लाही जिल्ला घर भई हाल लुभू, ललितपुरमा नै बस्ने शिवजी महतोको श्रीमती सरस्वती खत्रीलाई भगाई दोस्रो बिवाह गरेकोले अनिल श्रेष्ठ र सरस्वतीलाई यस जिल्ला प्रहरी परिसर ललितपुरबाट मिति२०७८/१२/१७ गते बहु विवाह मुद्धा दर्तागरी अनुसन्धान तथा कार्वाही भएकोमा श्यामकृष्ण श्रेष्ठ र शिवजी महतो मिल्ने साथी भएकोले श्यामकृष्ण श्रेष्ठले अनिल श्रेष्ठको बिरुद्धमा अदालतमा समेत साक्षी बकपत्र गरेको हुँदा अनिलले श्यामकृष्णलाई भित्री रुपमा दुश्मनी लिएको पाईएको ।
• अनिल श्रेष्ठले सहयोगी वहुउद्देश्यीय सहकारी संस्था बाट आफ्नो र परीवारको नाममा गरी दुई करोड पन्चान्नब्बे लाख) कर्जा निकालेकोमा सो को ब्याज तथा साँवा रकम समेत नतिरी कर्जा अनियमित भएकोले कर्जा चुक्ता गर्न ब्यवस्थापक श्यामकृष्ण श्रेष्ठले अनिललाई पटक पटक कर्जा रकम तिर्नु भनेकोले श्यामकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठ बीच सो कारणबाट मनमुटाव रहेको ।
• श्यामकृष्ण श्रेष्ठ पक्राउ परेको मिति २०७९/०३/१३ गते भन्दा पहिले पनि मिति२०७९/०२/२५ गते समेत अनिल श्रेष्ठले जिल्ला प्रहरी परिसर, ललितपुरमा कार्यरत प्रहरीलाई फोन गरी श्यामकृष्ण श्रेष्ठ चढ्ने स्कुटरमा पेस्तोल र गोली छ भनि सुचना दिएको र सो दिन उक्त सुचनाको आधारमा कन्ट्रोल मार्फत सो स्कुटरलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन गरिएकोमा उक्त नं. को स्कुटर ललितपुर प्रहरी टोलीले फेला नपरेको ।
• मिति २०७९/०२/२५ गते अनिल श्रेष्ठ सो सहकारीमा जानुपर्ने कुनै कारण नदेखिए पनि श्यामकृष्ण श्रेष्ठ पक्राउ नपरेकोले आफै सहकारी कार्यलयको पार्किंग एरियामा गई श्यामकृष्ण चढ्ने स्कुटरबाट उक्त हतियार निकालेको १५:३८ वजेको समयमा सोही सहकारीमा जडित सिसि टिभीमा कैद फुटेजबाट अनिलले गरेको हर्कत देखिएको ।
• मिति २०७९/०३/१३ गते सहकारीको काममा श्यामकृष्ण श्रेष्ठ प्रदेश३-०२-०१२प ६२४१ नं. को स्कुटर चढी लगनखेल स्थित मालपोत कार्यालयमा जान भनि हिडे पश्चात अनिल श्रेष्ठले कार्यरत प्रहरीलाई फोन गरी श्यामकृष्ण श्रेष्ठको स्कुटरमा हतियार छ भनी सूचना दिएको र आफैले श्यामकृष्णको पिछा गरी प्रहरीलाई २५ पटक कल गरी श्यामकृष्णको लोकेशन जानाकारी गराई लगातार अपराध (अबैध हतियार)को सूचना दिएको ।
• श्यामकृष्ण श्रेष्ठले चढ्ने प्रदेश ३-०२-०१२प ६२४१ नं. को स्कुटर सहयोगी वहुउद्देश्यीय सहकारी संस्था लि.को सम्पत्ति भएको र बिगत १ बर्ष देखी श्यामकृष्णले चढ्दै आएको भएतापनि उक्त स्कुटरको अर्को साँचो पूर्व उपाध्यक्ष अख्खन दास श्रेष्ठ संग भएकोमा अख्खनले करिब २५ दिन अगाडि साचो अनिल श्रेष्ठलाई दिइ सकेको बताएको हुँदा अनिल श्रेष्ठसंग सो स्कुटरको दोस्रो साँचो भएकोले जुनसुकै बेला स्कुटरको डिकी खोली हतियार राख्न अवस्था विद्ममान रहेको ।
• अनुसन्धानको क्रममा माथिका बिभिन्न तथ्यहरु खुल्न आएको हुँदा पुर्ब रिसिवी तथा कर्जा असुलीमा ताकेता गर्दा आफुलाई परेको असर समेतको कारण श्याम कृष्ण श्रेष्ठलाई फसाउनअभियुक्त अनिल श्रेष्ठले अपराधिक षडयन्त्र गरेको देखिन आएकोले निम्नानुसारको अभियुक्तहरु पक्राउ गरी श्याम कृष्ण श्रेष्ठलाई हाजिर जमानीमा छाडी थप अनुसन्धान भइरहेको ।
पक्राउ अभियुक्तहरुको बिबरण
• काजीलाल श्रेष्ठको छोरा ललितपुर जिल्ला महालक्ष्मी न.पा.वडा नं.८, लुभु स्थायी वतन भएका बर्ष ४३ को अनिल श्रेष्ठ ।
• देवलाल श्रेष्ठको छोरा ललितपुर जिल्ला महालक्ष्मी न.पा.वडा नं.८, लुभु स्थायी वतन भएका बर्ष ५० को अख्खनदास श्रेष्ठ ।
हाजिर जमानिमा छाडिएको
• जीतलाल श्रेष्ठको नाति जेठा श्रेष्ठ र हीरामाया श्रेष्ठको छोरा जिल्ला ललितपुर साविक लुभु गा.वि.स.वडा नं. ७ को परिवर्तित महालक्ष्मी न.पा.वडा नं. ८ लुभु वस्ने बर्ष५४ को श्यामकृष्ण श्रेष्ठ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया