‘मापसे’बाट लठ्ठ परेका एमाले वडा सदस्यको गाडीले ठक्कर दिँदा सेनाको मृत्यु

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ ।

मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग २ च ९०६२ नम्बरको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा ३३ प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार तनहुँको व्यास नगरपालिका–१२ घर भएका ३३ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार र चालक वडा सदस्य प्रहरीको नियन्त्रणमा रहेका छन् ।

वडा सदस्य गुरुङले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिएका छन् ।

पक्राउ परेका गुरुङ हालै मात्रै नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।

Published : Sunday, 2022 July 17, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया