कांग्रेस नेता रामहरिले सुनकोशीमाथि पुल बनाएर बाचा पूरा गरे, दोस्रो हप्ता उद्घाटन हुने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाको सुनकोशी नदीमा पुल बनाउने सपना साकार भएको छ ।

५ वर्ष अगाडि खतिवडाले सुनकोशी नदीमाथि नवलपुरमा पुलको योजना पारेर शिलान्यास गरेका थिए । त्यस बेला खतिवडा प्रतिनिधि सभाको सांसद थिए ।

२०७४ सालमा शिलान्यास भएको पुल निर्माणका क्रममा विभिन्न प्राविधिक समस्या आएका थिए । पुलमा प्राविधिक समस्या भएपछि डिजाइन परिवर्तन गर्नुपरेको थियो ।

नवलपुरको पक्की पुलले ओखलढुंगा र सिन्धुली जिल्लालाई जोड्नेछ । ओखलढुंगातिरका जनतालाई आवत–जावत गर्न सजिलो भएको छ ।

सिन्धुलीतिर पक्की सडक थियो । गन्तव्यमा जान जोखिम मोलेर सुनकोशी नदी तरेर वारी आएर गाडी चड्नुपर्ने बाध्य थियो । त्यो बाध्यता कांग्रेसका युवा नेता खतिवडाले अन्त्य गरिदिएका छन् ।

निर्माणको काम सम्पन्न भएको यो पुलबाट यात्रुहरूले आवत–जावत गर्न शुरु गरिसकेका छन् । पुलको प्राविधिक जाँच पनि भइसकेको छ ।

पुललाई औपचारिक रुपमा साउनको १५ देखि २० गतेभित्र गर्ने योजना रहेको कांग्रेस नेता खतिवडाको निजी सहयोगी हुकुम राईले जानकारी दिएका छन् ।

पुलको उद्घाटनको लागि प्रधानमन्त्री शेरबहादुर देउवा वा गृहमन्त्री बालकृष्ण खाणलाई लैजाने तयारी रहेको बुझिएको छ ।

Published : Sunday, 2022 July 17, 2:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया