नेविसंघ विरोधमा उत्रिएपछि एमालेका अटेरी कार्यकर्ताको सातोपुत्लो उड्यो, कठालो समातेर बर्खास्त गर्न माग

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपाल राष्ट्र बैंकका विवादित गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेर काठमाडौंमा प्रदर्शन गरेको छ ।

आइतबार नेविसंघले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि गभर्नर अधिकारीविरुद्धको प्रदर्शन गरेको छ ।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई गभर्नर पदबाट तुरुन्त बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले उहाँको बर्खास्त गर्नुहुनेछ’, शेर्पाले भने, ‘यदि गभर्नर महाप्रसाद अधिकारीले राजीनामा नदिए उहाँको जुनसुकै कार्यक्रममा गएर सभा बिथोल्ने संयुक्त विद्यार्थी संगठनहरूको अभियान छ ।’

कार्यक्रममा अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र अधिकारीले गभर्नर पदबाट राजीनामा दिनुपर्ने अल्टिमेटम दिएकी छिन् । उनले अधिकारीको राजीनामा नआए सडकमा आगो बाल्ने चेतावनी दिइन् ।

अध्यक्ष सिंहले पनि गभर्नर अधिकारी संलग्न हरेक सार्वजनिक कार्यक्रमहरू बहिष्कार गर्ने चेतावनी दिएकी छिन् ।

दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै युवा विद्यार्थी संगठनहरू केहि दिन यता आन्दोलित छन् ।

नेविसंघ र अखिल (क्रान्तिकारी)ले सशक्त रुपमा प्रदर्शन गर्दै आएका छन् ।

गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्तिबारे बहस र आलोचना शुरु भएको हो ।

अधिकारीको नियुक्ति ‘राजनितिक संलग्नता नभएको स्वतन्त्र ब्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान’ विपरित भएको खुल्न आएको भएको भन्दै युवा विद्यार्थी संगठनले बिरोध चर्काएका हुन् ।

सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको छ ।

शनिबार वाइसिएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरि छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको छ ।

Published : Sunday, 2022 July 17, 1:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया