गृहमन्त्री खाणद्वारा जंगली जनावर र नागरिकबीचको द्वन्द्व समाधानबारे परामर्श

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जंगली जनावर र नागरिकबीचको द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरेका छन् ।

खाणले वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कंडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग बन्यजन्तु र नागरिकबीचको दूरी कम गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा टेलिफोनमा कुराकानी गरेका हुन् ।

झापामा जंगली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक÷पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाणले सम्वन्धित निकायका प्रमुखसँग कुराकानी गरेका हुन् ।

बर्दियाको मधुवन नगरपालिका वडा नं १, २ र ३ मा जंगली जनावरले नागरिकलाई पटक–पटक आक्रमण गर्ने गरेका छन् ।
जेठमा बाघले पटक/पटक आक्रमण गरेपछि मधुवन नगरपालिका– २ ओराली बजारका स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए ।

आन्दोलनका क्रममा प्रहरीसँग झडप हुने अवस्थासमेत आएको थियो ।

त्यसपछि मधुवन नगरपालिका प्रमुख तेजबहादुर भाटसहित टोलीले काठमाडौं आएर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खाणलाई भेटेर बन्यजन्तुको आक्रमणबाट रोक्न जंगल र बस्तीबीचमा तारबारको व्यवस्था गर्न माग गरेको थियो ।

तारबार कसरी र कुन निकायमार्फत गर्ने भनेर गृहमन्त्री खाणले आफूसँग छलफल गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी बस्तोलाले जानकारी दिए ।

‘जंगली जनावर र नागरिकबीचको दूरी बढाउन कसरी कुन निकायमार्फत अगाडि बढ्ने भन्ने विषयमा गृहमन्त्रीज्यूले टेलिफोनमा कुराकानी गर्नुभएको थियो’, बास्तोलाले भने, ‘मैले वन मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्दा उपयुक्त हुने बताएँ ।’

वनक्षेत्रबाट बाघ बस्तीमा प्रवेश गर्न नपाउन् भनेर तारबारका लागि जिल्लाबाट बजेट छुट्टाउन केन्द्रमा माग गरिएको प्रजिअ बास्तोलाले बताएका छन् ।

झापामा पछिल्लो एक महिनामा तीन जंगली हात्ती मृत फेला परेका छन् । दुई वयस्क र एक बच्चा हात्ती के कारणले मरे भन्ने निश्चित भएको छैन । प्रकृति संरक्षण कोषले हात्ती मृत भेटिएको कारण पत्ता लगाउन छानबिन समिति बनाएको छ ।

गृहमन्त्री खाणले वनसचिव कडेलसँग पनि जंगली जनाबर बस्तीमा पस्न नदिन के–के गरेर समस्या समाधान गर्न सकिन्छ भनेर छलफल गरेका हुन् ।

खाणले झापाका प्रमुख जिल्ला अधिकारी रिजालसँग त्यो घटना कसरी हुन गयो र यस्ता घटना हुन नदिन कसरी अगाडि बढ्नुपर्छ भनेर कुराकानी गरेका छन् ।

Published : Saturday, 2022 July 16, 2:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया