काठमाडौंबाट दश जना पक्राउ

काठमाडौं । काठमाडौंको बल्खुबाट प्रहरीले टाटा सुमोको काउण्टरमा यात्रुलाई दुःख दिने १० जनालाई पक्राउ गरेको छ ।

काउण्टरमा यात्रुहरूलाई लाग्ने भाडाभन्दा बढी भाडा लिई जबरजस्ती यात्रुहरूलाई तानी बाधा अवरोध गरी अनावश्यक दुःख हैरानी दिएको अभियोगमा १० जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्नेहरू सिन्धुलीका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ, कैलालीका २१ वर्षीय राजु थापा, पर्साको वीरगंजका ३५ वर्षीय राजिवकुमार सिंह रहेका छन् ।

सिन्धुलीका ३० वर्षीय नितिशजंग राणा, सर्लाहीका २९ वर्षीय रबिन्द्र चौधरी, काठमाडौं महानगरपालिका–१३ बस्ने भारतको बिहारका २९ वर्षीय राकेशकुमार श्रीवास्तव, कीर्तिपुर नगरपालिका–२ बस्ने रौतहटका २९ वर्षीय आकाश तामाङ, नागार्जुन नगरपालिका–३ बस्ने ईलामका २९ वर्षीय दोर्जे गुरुङ र काठमाडौंको दक्षिणकाली बस्ने ४० वर्षीय राम तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

काउण्टरमा केही व्यक्तिहरूले यात्रुलाई अनावश्यक दुःख हैरानी दिइरहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सडकबाटै जवरजस्ती तानी दुःख हैरानी दिइरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

Published : Friday, 2022 July 15, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया