गृहमन्त्री खाणलाई भारतले दियो बाढीपहिरो राहत सामग्री
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बाढीपहिरो राहत सामग्री हस्तान्तरण गरेका छन् ।
शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा राजदूत श्रीवास्तवले खाणलाई राहत सामग्रीमा हस्तान्तरण गरेका हुन् ।
३००० वटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
हरेक वर्ष भारी वर्षाका कारण हुने डुबानले नेपालका विभिन्न भागमा ठूलो विनाश र क्षति हुने गरेको छ ।
मानवीय सहायता तथा विपद् राहत उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई कायम राख्दै नेपाल सरकारले राहत सामग्रीका लागि गरेको अनुरोध बमोजिम दूतावासले राहत सामग्रीउपलब्ध गराएको जनाइएको छ ।
नेपाली जनता र नेपाल सरकारलाई विपद् न्यूनीकरण प्रयासमा सहयोग गर्न मानवीय सहायता तथा विपद् राहत उपलब्ध गराउने यो पहल नेपाल र भारतबीचको विकास साझेदारीको आधारको रुपमा रहेको छ ।
यसले भारत र नेपालका जनताबीचको भावनात्मक सम्बन्धलाई उजागर गरेको छ ।
समयमै राहत सामग्री उपलब्ध गराइदिएकोमा गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।
खाणले नेपालमा भारत सरकारको सहयोगमा सञ्चालित विकास परियोजनाको सराहना गरेका छन् ।
राजदूत श्रीवास्तवले राहत सामग्री बेलैमा उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।
उनले सम्बन्धित निकायले राहत सामग्रीको उचित प्रयोग एवम् समयमै वितरण गरी त्यसको अधिकतम लाभलाई सुनिश्चित गर्ने कुरामा आफू आशावादी रहेको बताएका छन् ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक बहुक्षेत्रीय सहकार्य रहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया