सुनिल थापाले दिए कसैको ध्यान नपुगको सुझाव, ०४६ सालपछि धनकुटामा कांग्रेस बलियो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यावाद दिएका छन् ।

बिहीबार सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने क्रममा नेता थापाले देउवालाई कांग्रेस पार्टीलाई सबैभन्दा ठूलो र १ नं. पार्टी बनाएकोमा धन्यावाद दिएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउन सभापति देउवाको विशेष भूमिका रहेको बताए ।

नेता थापाले उप–सभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा.प्रकाशशरण महतको नेतृत्वमा रहेका दुई वटा समितिहरूले पनि चुनावमा विशेष भूमिका खेलेको भन्दै खड्का र डा.महतलाई धन्यावाद दिएका छन् । उनले कांग्रेसको कार्यसमितिलाई पनि धन्यावाद दिएका छन् ।

‘कांग्रेस यस पटक अझै राम्रो हैसियत लिने थियो । तर, मत पत्रको साइज, उम्मेदवार नभएको ठाउँमा पनि चुनाव चिन्ह रहेको हुनाले धेरै मतहरू बिग्रियो । निर्वाचन आयोगलाई समयमा सुझाव दिएर उम्मेदवार नभएको ठाउँमा चुनाव चिन्ह नराख्न सुझाव दिएको भए कांग्रेसले अझै जित्ने थियो ।’

नेता थापाले उम्मेदवार नभएको स्थानमा पार्टीको चुनाव चिन्ह राख्न नहुने विषयमा उठाएर सर्तक बनाएका छन् । बैठकमा यो विषय केन्द्रीय सदस्य, पदाधिकारी र मन्त्रीहरूले उठाएका थिएनन् । थापाले नै पहिलो पटक उठाएका हुन् ।

नेता थापाले गठबन्धनले कांग्रेसलाई फाइदा गरेको बताए । उनले भने, ‘गठबन्धनले कांग्रेसलाई फाइदा गरेको छ । बेफाइदा भएको छैन । आगामी दिनमा यो गठबन्धनको परिभाषामा हामी विचारमा भिन्दै भए पनि नीतिमा एकठाउँमा उभिएका छौँ ।’

‘संविधानमाथि हमला हुँदा र संविधानलाई तहस–नहस । हिजो संघीयता र गणतन्त्रको लागि एक ठाउँमा उभिएको पार्टीहरूले संविधानलाई रक्षा गर्नको लागि गठबन्धन गरिएको हो’, उनले भने, ‘गठबन्धन अझैपनि आवश्यक छ । अझै पनि संविधानमाथि धावा बोल्ने खतरा छ । संघीयता र गणतन्त्रलाई समातेका पार्टीहरू एकठाउँमा छन् । संविधानको कार्यान्वयनका लागि गठबन्धन हिजो पनि आवश्यक्ता थियो । आज पनि आवश्यक्ता छ ।’

धनकुटा जिल्लामा पहिलो पटक कांग्रेसले पालिकामा जित हासिल गरेको उनले बताए । ‘धनकुटामा ०४६ सालपछि कहिल्यै पनि प्रजातान्त्रिक शक्तिले जितेको थिएन’, उनले भने, ‘हामी सबै गोलबद्ध भएर कांग्रेसलाई धनकुटामा सात वटामध्ये चार वटा पालिकामा जिताएका छौं । धनकुटामा कांग्रेस बलियो छभन्ने कुरा देखाइदिएका छौं ।’

कांग्रेसमा प्रवेश गरेका नयाँ साथीहरूले पार्टीका उम्मेदवारहरूलाई जिताउन ठूलो भूमिका खेलेको नेता थापाले बताए । उनले नवप्रवेशीहरूलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिन सभापति देउवासँग आग्रह पनि गरेका छन् ।

Published : Thursday, 2022 July 14, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया