प्रतिभा सहकारीका अध्यक्ष कीर्ते काण्डमा पुर्पक्षका लागि कारागार चलान, लामो समय खोरमै बस्ने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक समितिका तत्कालीन सदस्य ५३ वर्षीय माधवप्रसाद तिमल्सिनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

तिमल्सिनालाई लिखतसम्बन्धी कसूरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको अदालतको आदेशमा उल्लेख छ ।

तिमल्सिनाले धरौटीमा छुट्न ठूलो जोडबल गरेका थिए । अब मुद्दाको किनारा नलाग्दासम्म उनी थुनामा रहनेछन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बोर्डको संचालक पदमा नियुक्तिको लागि तिमल्सिनाले बुझाएको प्रमाण पत्र कीर्ते र जालसाजीको अभियोगमा पक्राउ परेको थियो । उनी ललितपुरको थसीखेलबाट पक्राउ गरेका थिए ।

ललितपुर महानगरपालिका–१३ कुसुन्तीमा बस्दै आएका तिमल्सिनाले कीर्ते गरेको अभियोगमा सीआईबीले अनुसन्धान गरेर प्रतिवेदनसहित सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो ।


शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती ठेगाना भएका ५३ वर्षीय तिमल्सिनालाई नेपाल सरकार भूमि व्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेको तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र, उनकै नाममा पाटन मल्टिपल क्याम्पसको स्नातकको हुम्यानिटिज र सोसल साइन्सको ट्रान्स्कृप्ट कीर्ते गरी २०७८ चैत ६ गते निवेदन साथ राष्ट्रिय सहकारी विकास वोर्डमा पेश गरेको पाइएपछि ब्यूरोले अनुसन्धान गरेको थियो ।

‘जन्म मिति २०२६–१२–२६, रजिष्ट्रेसन नं.१४९१५–८९ भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको माधवप्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र ःबमजबख एचबकबम त्ष्mबकिष्लब त्रि.वि.दर्ता नं. १४९१५–८९,Patan Multiple Campus को Bachelor’s Degree in Humanities and Social Sciences, को ट्रान्स्कृप्ट कीर्ते गरी मिति २०७८/१२/०६ गते निवेदन साथ राष्ट्रिय सहकारी विकास वोर्डमा पेश गरेकोले निजलाई मिति २०७९–०३–१४ गते ललितपुर जिल्ला थसीखेलबाट पक्राउ गरी लिखत सम्बन्धि कसूरमा सम्मानित जिल्ला अदालत काठमाडौंबाट दिन– ५ म्याद लिई अनुसन्धान भइरहेको व्यहोरा सूचित गरिन्छ’, यसअघि सीआईबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका तिमल्सिना ललितपुरमा रहेको प्रतिभा बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष पनि हुन् । माओवादी केन्द्र ललितपुरको नेता हुँभन्दै आएका तिमल्सिनाको सहकारीमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालको पनि लगानी रहेको छ ।

मन्त्री भुसालको सचिवालयमा बाक्लै आउजाउ गर्दै आएका तिमल्सिनालाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशि श्रेष्ठले बोर्डको सदस्यमा मनोनीत गरेकी थिइन् ।

तिमल्सिनाले कीर्ते गरे र जालसाजी गरेर प्रमाण पत्र पेश गरेको थाहा पाएपछि पदबाट राजीनामा गर्न लगाएकी थिइन् । मन्त्री श्रेष्ठ पनि कीर्ते काण्डमा पर्ने भएपछि भूमिसुधार मन्त्रालयमा बबण्डर भएको छ ।

तिमल्सिनाले यसअघि आफ्नो सहकारीमा ठगी गरेको भन्दै पीडितहरूले बेलाबेला उजुरी गर्ने गरेका थिए । उनको सहकारी पनि विवादमुक्त छैन् । अध्यक्ष तिमल्सिनानै कीर्ते काण्डमा पक्राउ परेपछि प्रतिभा सहकारीका बचतकर्ता र सेयरधनीहरू खतरामा परेका छन् ।

Published : Tuesday, 2022 July 12, 10:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया