मन्त्री श्रेष्ठले कार्यकक्षमै दनक भेटे

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले आफ्नै पार्टीका नेता कार्यकर्ताबाट कुटाइ खाएका छन् ।

बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्री कार्यकक्षमै जसपाका सांसद रामबाबु यादवले हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सांसद यादवले आफ्नो क्षेत्रमा बजेट नहालेको विषयमा विवाद बढ्दै गएपछि मन्त्री श्रेष्ठमाथि हातपात गरेको जनाइएको छ ।

सांसद यादवले हातपात गरेपछि मन्त्री श्रेष्ठका सुरक्षा गार्डले जोगाएका छन् ।

मन्त्री श्रेष्ठको कार्यकक्षमा अन्य सांसदहरूसहित यादव पुगेका थिए । यादवले अश्लील गाली गलौच गरेका थिए ।

मन्त्री श्रेष्ठ जसपाबाट सरकारमा सहभागी छन् । उनलाई हातपात गर्ने सांसद पनि जसपाकै हुन् ।

केही दिनदेखि मन्त्री परिवर्तनको विषयलाई लिएर जसपाभित्र विवाद भैरहेको छ ।

यसैबीच, मन्त्री श्रेष्ठको निजी सचिवालयले हातपात नभएको जनाएको छ ।

बिहीबार मन्त्री श्रेष्ठको सचिावलयले विज्ञप्ति जारी गर्दै मन्त्री श्रेष्ठमाथि हातपात र चर्काचर्की नभएको स्पष्ट पारेको हो ।

मन्त्री श्रेष्ठको कार्यकक्षमा भएको भेटघाट र त्यहाँ हातपात भएको भन्ने समाचारबारे सचिवालयको ध्यानकर्षण भएको बताउँदै मन्त्री श्रेष्ठको निजी सचिवालयले भ्रामक समाचारप्रति दुःख व्यक्त गरेको छ ।

भेटघाट कार्यक्रममा तराई मधेश समृद्धि कार्यक्रम र पालिकाहरुमा स्थानीय पूर्वाधार विकास कार्यक्रमबारे नियमित छलफल भएको जानकारी समेत विज्ञप्तिमा दिइएको छ ।

Published : Friday, 2022 June 10, 12:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया