सभापति पुनका कारण लुम्बिनी कांग्रेसभित्र भाँडभैलो, बैठक बोलाउन माग

बुटवल । स्थानीय तहको निर्वाचनको समीक्षा गर्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य मोती भण्डारीसहितका नेताहरूले माग गरेका छन् ।

लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले निर्वाचनको समीक्षा गर्न बैठक बोलाउन चासो नदिएपछि भण्डारीसहितका सदस्य र पदाधिकारीहरूले बैठकको माग गरेका हुन् । भण्डारीले स्थानीय तहको निर्वाचनमा भएको कमीकमजोरीबाट शिक्षा लिएर प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा लाग्न पनि कार्यसमितिको बैठक अनिवार्य भएको बताएका छन् ।

सदस्य भण्डारीले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सभापतिज्यू, जय नेपाल ! नेपाली कांग्रेस लुम्बिनी प्रदेशको कार्यसमिति बैठक बोलाउन जोडदार माग गर्दछु ।’

हुन त, सभापति पुनले केही स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा मनोमानी गरेको आरोप छ । पुनले कार्यसमितिको पदाधिकारी, कार्यसम्पादन र सदस्यहरू मनोनयनमा पनि अपारदर्शी रुपमा गरेको आरोप छ ।

कोषाध्यक्षमा प्रकाश रानालाई मनोनीत गरेपछि आफ्नै टिमभित्रबाट सभापति पुनको विरोध र आलोचना भएको छ । सभापति पुनको हर्कतको विरोधमा कुनै पनि पदाधिकारी र सदस्यहरू बोल्न डराइरहेका छन् । तर, उनकै टिमभित्र पुनविरुद्ध विष्फोट हुने अवस्था सिर्जना भएको छ । सभापति पुन नेता शेखर कोइराला निकटका हुन् ।

पदाधिकारी र सदस्यहरू मनोनयन गर्दा कार्यसमितिमा प्रस्ताव राखेर गर्नुपर्ने सुझाव सभापति पुनलाई छ । ‘पदाधिकारी र सदस्य मनोनयन गर्ने अधिकार सभापतिको हो । तर, मनोनयन गर्दा सामान्य विधि र पद्धति अपनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो’, एक सदस्यले भने, ‘हामी सधैँ विधि र पद्धतिका लागि लडेर आयौँ । हाम्रै टिमका सभापतिले त्यही विधि र पद्धति अंगाल्न थाल्नुभयो । पेल्न थाल्नुभयो ।’

सभापति पुनमा पछिल्लो समय अहँकार पैदा भएको चर्चा कांग्रेसभित्र छ । कसैसँग पनि सरसल्लाह नगरेर एकलौटी रुपमा निर्णय गर्ने, आफ्नै टिमका साथीहरूलाई पाखा लगाउने, आलोचना र सुझावहरूबाट सभापति पुन भाग्ने गरेको आरोप छ ।

Published : Friday, 2022 June 3, 7:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया