कांग्रेस नेता जन्मजय तिमिल्सिनाको गाउँपालिकामा माओवादी–एमालेले एउटा वडा जित्न सकेनन्

गेरुवा । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष जन्मजय तिमिल्सिनाको गाउँपालिकामा कांग्रेसका उम्मेदवारहरूको शानदार जित भएको छ ।

बर्दियाको गेरुवा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका ५० वर्षीय जमानसिं केसीले आफ्ना प्रतिद्वन्द्वीलाई १०७८ मतको भारी अन्तरले हराएका हुन् । केसीले ७६९८ मत पाएर निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । केसीका निकटटम प्रतिद्वन्द्व माओवादी केन्द्रका ४० वर्षीय विश्वबहादुर थारु ६६२० मतसहित पराजित भएका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकी ३२ वर्षीया लक्ष्मीकुमारी चौधरी ७१५३ मतसहित विजयी भएकी छिन् । लक्ष्मीकी निकटतम प्रतिद्वन्द्वी माओवादीकी ४५ वर्षीया लीला चौधरी ६५८३ मतसहित पराजित भएकी छिन् ।

कांग्रेसले गाउँपालिकाको ६ वटै वडामा जित हात पारेको छ । वडा नं. १ मा ४३ वर्षीय कर्मप्रसाद चौधरी (१३०५), वडा नं. २ मा ५३ वर्षीय कृष्ण थारु (११७३), वडा नं. ३ मा ४३ वर्षीय निर्मल चौधरी (१०३७) निर्वाचित भएका छन् ।

वडा नं. ४ मा ४३ वर्षीय महेन्द्रप्रसाद चौधरी (१४७५), वडा नं. ५ मा ५१ वर्षीय धर्मप्रसाद थारु (१२७८) र वडा नं. ६ मा कृष्णगोपाल चौधरी (१४७२) निर्वाचित भएका छन् ।

गेरुवा गाउँपालिकामा कांग्रेससँग माओवादीले निकटतम प्रतिद्वन्द्वीका रुपमा प्रतिस्पर्धा गरेको थियो । एमाले तेस्रो स्थानमा रहेको थियो ।

गेरुवा गाउँपालिकामा यस पटक माओवादी र एमालेको फत्तासाफ भएको छ । कुनै पनि वडा उनीहरूले जित्न सकेनन् ।

यसैबीच, युवा नेता तिमिल्सिनाले कांग्रेसबाट विजयी भएका सबै उम्मेदवारहरूलाई बधाई दिँदै मतदाताहरूप्रति आभार प्रकट गरेका छन् । उनले आगामी दिनको कार्यकालको शुभकामना समेत दिएका छन् ।

नेता तिमिल्सिनाले गेरुवा गाउँपालिकाका नेता तथा कार्यकर्ता र जिल्ला नेतृत्वको अपार सहयोगका कारण आफूहरू गाउँपालिकामा कम्युनिस्टलाई हराउन सकेको भन्दै सबैलाई धन्यावाद दिए ।

निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई जिताउन भूमिका खेल्ने, सहयोग गर्ने सबै शुभेच्छुकहरूलाई पनि तिमिल्सिनाले धन्यावाद दिएका छन् ।

वडा नं ५ कांग्रेस नेता तिमिल्सिनाको आफ्नै घर रहेको वडा पर्छ । कांग्रेसका उम्मेदवारहरूलाई जिताउन नेता तिमिल्सिना गाउँपालिकाका टोल–टोल आफै खटिएका थिए ।

Published : Thursday, 2022 May 19, 9:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया