काठमाडौंमा विप्लव ‘ग्याङ’का अराजक समर्थकहरू पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’को समूहसहित झिनामसिना सात दलीय कम्युनिस्ट मोर्चाले आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौं उपत्यकाबाट ४१ जना अराजक हर्कत गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बिहान काठमाडौं, भक्तपुर र ललितपुरबाट ४१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट २६, ललितपुरबाट १२ र भक्तपुरबाट तीन जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कोटेश्वरमा ट्याक्सीमा आगो लगाउने प्रयास गरिएका अराजक समूहलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

सिपी टावरनजिकै एउटा ट्याक्सीमा आगजनी गर्न खोज्नेसहितका बन्दकारीहरू नियन्त्रणमा लिइएको मैनालीले बताएका छन् ।

ललितपुरमा सार्वजनिक यातायातमा ढुंगा प्रहार गरेको, टायर बालेको आरोपमा १२ जना पक्राउ परेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले बताएका छन् ।

भक्तपुरको कौशलटार, सल्लाघारी क्षेत्रमा टायर बालेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यकामा नेपाल बन्दको आंशिक प्रभाव परेको छ । उपत्यकामा सवारीसाधनमा बन्दको प्रभाव खासै परेको छैन ।

Published : Wednesday, 2022 February 16, 11:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया