कांग्रेसलाई ठूलो पार्टी बनाउन ५ दलीय गठबन्धन चुनावसम्म लैजानुपर्छ : रामचन्द्र पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ५ दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताएका छन् ।

आइतबार पोखरामा पार्टीको कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेससँग ३० प्रतिशत मात्र मत भएको बताए । उनले कांग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाँउमा गएमा के हुन्छ भनेर प्रश्न पनि गरेका छन् ।

उनले संविधानमा नै अनुसार पनि कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविष्यमा सरकार बनाउने शक्तिहरूले चुनावमा नै गठबन्धन बनाउन आवश्यक रहेको बताए ।

‘संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन’, उनले भने, ‘त्यसकारण सरकार चलाउनका लागि पनि अरु पार्टीसँग गठबन्धन गर्नैपर्छ ।’

नेता पौडेलले भने, ‘गठबन्धनको संस्कृतिको विकास गर्न आवश्यक छ ।’

राष्ट्रियसभा गठबन्धन मिल्दा ६ जना सदस्य पाएको उपलब्धि हो कि होइन भन्दै पौडेलले गठबन्धन गर्न हुँदैन भन्नेहरूलाई प्रश्न गरेका छन् ।

कांग्रेसका नेता पौडेलले माधव नेपाल र प्रचण्डले एमसीसीबारे भ्रम छरेको आरोप लगाएका छन् ।

‘मैले गठबन्धनको बैठकमा नै भने, एमसीसीका बारेमा आम जनतालाई कन्भिन्स गराउनुभयो’, उनले भने, ‘अब मलाई कन्भिन्स गराउनुस्, होइन भने कार्यान्वयनमा लैजाउ ।’

उनले भनेका छन्, ‘मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो । ठूलो विकास आयोजना ठप्प छन् । यसले पनि मुलुक असफलतातर्फ धकेलिन्छ ।’

Published : Sunday, 2022 February 6, 4:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया