गृहमन्त्रीको निर्देशनले सीडीओ र प्रहरीका हाकिमहरूमा उर्जा थपियो, उद्धार र राहतमा खटिए

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले तराईमा हावाहुरी र हिमपातबाट ज्यान गुमाएका तथा समस्यामा परेकाहरूको उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।

शनिबार बिहान गृहमन्त्री खाणले मातहतलाई समस्यामा परेकाहरूको उद्धार र राहतमा खटिन निर्देशन दिएका हुन् ।

हावाहुरीबाट तराईमा तीन जनाको मृत्यु भएको छ । पहाडी र हिमाली जिल्लामा हिमपातका कारण अफ्ठ्यारोमा परेकालाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन खाणले निर्देशन दिएका हुन् ।

खाणले गृह मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सह–सचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई जिल्ला, हिमाली जिल्लाका आठ जना प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात र हावाहुरीका कारण अफ्ट्यारोमा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको प्रेस नोटमा उल्लेख छ ।

शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा अवस्थित फकिरचन उच्चमाध्यामिक विद्यालयको प्राङ्गणमा भिक्स मसालाको हाँगा भाचिँदा महेन्द्र सदाकी ८ वर्षकी छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्दको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिए ।

गृहमन्त्री खाणले नेपाल प्रहरीका जिल्ला प्रमुख बसन्त रजौरेलाई बच्चाहरूको अन्त्यष्टि र अन्य आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका एकमा कच्ची खपडाको घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी श्रीमती ४५ फूलमतियादेवी मृत्यु भएको थियो । दुई बाख्रा पनि च्यापिएर मरेका थिए ।

गृहमन्त्री खाणले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी प्रमुख एसपी विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

मन्त्री खाणले प्रमुख जिल्ला अधिकारीहरू दीर्घराज उपाध्याय (दार्चुला), विजयाकुमारी प्रसाइँ (जुम्ला), गणेश आचार्य (हुम्ला), शंकरहरि आचार्य (गोरखा), उमेश पाण्डे (ताप्लेजुङ), गणेशबहादुर शाही (सोलुखुम्बु), दिलकुमार तामाङ (ओखलढुंगा) र फणिन्द्र दाहाल (खोटाङ)लाई हिमपातको असरका बारेमा जानकारी लिएका छन् ।

खाणले डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि कुराकानी गरेर जिल्लाको अवस्थाबारे जानकारी लिएका छन् ।

Published : Saturday, 2022 February 5, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया