ओखलढुंगा घर भएका पत्रकार राईको निधन

काठमाडौं । पत्रकार कमलराज राईको ४५ वर्षको उमेरमा निधन भएको छ ।

पत्रकार राईको बिहीबार हृदयघातबाट काठमाडौंमा निधन भएको परिवारजनले जनाएका छन् । राईलाई स्वास्थ्यमा समस्या भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो ।

पत्रकार राईको उपचारका क्रममा निधन भएको आफन्तले जनाएका छन् ।

ओखलढुंगा जिल्लाको उबुमा स्थायी घर भएका पत्रकार राई विगत १८/१९ वर्षदेखि राजधानीमा पत्रकारिता गर्दै आएका थिए ।

राईले सौर्य दैनिक, माउन्टेन टेलिभिजन, सिटीपोष्ट दैनिक, कमाण्डर पोष्ट दैनिक, खम्बुवान पत्र, न्यूज अप्रेसन, नयाँसन्देश साप्ताहिक, साप्ताहिक आवाज लगायातका सञ्चारमाध्यममा काम गरेका थिए ।

उनले गोरखा सैनिक आवाज नामक पत्रिकाबाट पत्रकारिता सुरु गरेका थिए । राई पछिल्लो समय प्रभाव राष्ट्रिय दैनिकमा सम्पादकका रुपमा कार्यरत थिए । उनले आम सञ्चारमा स्नातकोत्तर गरेका थिए ।

पत्रकार राई नेपाल प्रेस युनियन निकट मानिन्थे । राई नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यसमिति सदस्य पनि हुन् ।

Published : Friday, 2022 February 4, 9:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया