संस्कृत विश्वविद्यालयमा विज्ञापन खोल्न संघको माग, गलत हर्कत रोक्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेस निकटको प्रजातन्त्रवादी प्रध्यापक संघ नेपालले नेपाल संस्कृत विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीको वृत्तिविकास, पदोन्नतिका लागि विज्ञापन तत्काल खोल्न सरकारसँग माग गरेको छ ।
बुधबार संघका महासचिव राजेन्द्र गौतमले कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई पत्र लेखेर सात दिनभित्र विज्ञापन खोल्न माग गरेका हुन् ।
‘विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीको वृत्तिविकास, पदोन्नतीका लागि विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय बमोजिम प्रध्यापक ध्रुबप्रसाद ज्ञवालीको अध्यक्षतामा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न र सो बमोजिमको विज्ञापन तत्काल सात दिनभित्र खोल्न जोडदार माग गर्दर्छौं’, पत्रमा भनिएको छ ।
‘उप–प्रध्यापक र कर्मचारीको खुल्ला विज्ञापनको सन्दर्भमा विश्वविद्यालको आवश्यकता र औचित्य हेरी विशेष समिति गठन गरि अध्ययन गराई सोको सिफारिस प्रतिवेदनका आधारमा मात्र अत्यावश्यक ठाउँमा पदपूर्ति गर्ने व्यवस्था गर्न माग गर्दर्छौं’, महासचिव गौतमले भनेका छन् ।
‘विश्वविद्यालय सञ्चालनका निम्ति विगतमा हुँदै आएका सहमतिहरू उल्लंघन गर्दै पूर्वाग्रहका आधारमा निरङ्कुश शैलीमा एकलौटी ढङ्गले विश्वविद्यालयको नेतृत्व अझपनि अगाडि बढेमा आइपर्ने जुनसुकै अप्रिय परिणामको जिम्मेवार वर्तमान नेतृत्व हुनेप्रति सचेत गराउन चान्छौँ’, संघले चेतावनी दिएको छ ।
संस्कृति शिक्षाको विकासका लागि प्राज्ञिक क्रियाकलापमा केन्द्रित हुनुपर्नेमा नेपाल संस्कृति विश्वविद्यालयको वर्तमान नेतृत्व त्यसतर्फ गम्भीर नभई राजनीतिक पूर्वाग्रहका आधारमा आफ्ना गतिविधि अगाडि बढाएकोप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भ्रष्टाचारको आरोपसमेत लागिसकेको विश्वविद्यालयको वर्तमान नेतृत्वले विश्वविद्यालयका सरोकारवाला पक्ष प्रध्यापक, कर्मचारी र विद्यार्थीसँग समन्वय र सहकार्य नगरी एकलौटी ढंगले अगाडि बढि विश्वविद्यालयको गरिमा र प्रतिष्ठामा समेत आँच पुर्याउन थालेकोले तत्काल विश्वविद्यालयको नेतृत्वलाई कानूनबमोजिम आवश्यक निर्देशन दिन र नियमन गर्न कुलपति एवम् प्रधानमन्त्री, सह–कुलपति एवम् शिक्षा र शिक्षा अनुदान आयोग समक्ष अनुरोध गरिएको पत्रमा उल्लेख छ ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया