कम्युनिस्टले साढे तीन वर्ष नगरेको काम गृहमन्त्री खाणले ६ महिनामै फत्ते गरे

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले उखु किसानहरूको ६९ करोडभन्दा धेरै रकम भक्तानी गराउन समन्वय गरेका छन् ।

बिहीबार गृह मन्त्रालयद्वारा जारी ६ महिनाको कार्यसम्पादनको सूचीमा मन्त्री खाणले उखु किसानका माग सम्बोधन गर्न समन्वयकारी भूमिका खेलेको उल्लेख छ ।

‘विभिन्न उखु किसानहरूलाई रु ६९ करोडभन्दा बढी रकम भुक्तानी गराउने सम्बन्धमा आवश्यक समन्वय गरिएको छ’, सूचीमा उल्लेख छ ।

गृह मन्त्रालयबाट गम्भीर प्रकृतिका रोग लागेका तथा अन्य राज्यले सहयोग गर्नै पर्ने प्रकृतिका व्यक्तिहरूलाई रू ९ करोड ५५ लाख २० हजार आर्थिक सहायता दिइएको जनाएको छ ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने ८८७ जनालाई सम्मानस्वरुप विभिन्न विभूषणहरू प्रदान गरिएको पनि गृह मन्त्रालयले जनाएको छ ।

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना गरिएको, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी, अन्तर प्रदेश प्रहरी परिचालन निर्देशिकाको मस्यौदा तयार भएको जस्ता विषय पनि गृह मन्त्रालयले ६ महिनाभित्र कार्यहरू गरेको सूचीमा उल्लेख गरेको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीबीच अपराध नियन्त्रण र अनुसन्धान सहयोग समन्वय कार्यविधिको मस्यौदा तयार भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रदेश प्रहरीको क्षमता अभिवृद्धि निर्देशिकाको मस्यौदा तयार भएको छभने निर्वाचन सुरक्षा योजनाको मस्यौदा तयार भएको छ ।

Published : Thursday, 2022 February 3, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया