दुईतिहाइको कम्युनिस्ट सरकार असफल भएको ६ महिनाभित्रै खाणले गरे प्रहरीभित्र ठूला निर्णयहरू

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार असफल भएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेपछि गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीभित्र उल्लेखनीय कार्यहरू गरेको तथ्याङ्क सार्वजनिक भएका छन् ।

बिहीबार गृह मन्त्रालयले ६ महिनाको कार्यसम्पादनको सूचीमा प्रहरीभित्र तल्लो दर्जाका कर्मचारी प्रहरीका लागि निर्णयहरू भएको उल्लेख छ ।

प्रहरी नियमावलीमा नवौं संशोधन गरी सहायक तथा श्रेणीविहीन दर्जामा वर्षौंदेखि एउटै पदमा कार्यरत रहनुपर्ने अवस्थाको अन्त्य गरी वृत्ति विकासलाई थप अनुमानयोग्य बनाइएको उल्लेख गरिएको छ ।

त्यसको लागि राजपत्र अनङ्किततर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी वरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार गरी तीन तह तथा श्रेणीविहीनतर्फ द्वितीयदेखि पञ्चमस्तरसम्म चार तह गरी जम्मा सात तह थप दरबन्दी सिर्जना गरी ती पदहरूमा बढुवाबाट पदपूर्ति हुने व्यवस्था गरी प्रहरीको मनोबल उच्च पारिएको कार्यसम्पादनको सूचीमा उल्लेख छ ।

व्यवस्थाबाट १,८९० जना श्रेणीविहीन, १४,५५२ जना प्रहरी जवान, ३,३८३ जना प्रहरी हवलदार र १,१७९ वरिष्ठ नायब निरीक्षक गरी जम्मा २१,००४ प्रहरी कर्मचारीहरूको तहवृद्धि हुनेछ ।

खाणले गृह मन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रहरीको रासन भत्ता १५ प्रतिशतले वृद्धि गरिएको छ ।

ट्राफिक प्रहरीतर्फ कार्यालय सहयोगीदेखि प्रहरी हवल्दारसम्म शुरु तलब स्केलको ४० प्रतिशत प्रहरी सहायक निरीक्षकदेखि प्रहरी निरीक्षकसम्म २० प्रतिशत र प्रहरी निरीक्षकदेखि प्रहरी नायव उपरीक्षकसम्म १० प्रतिशतका दरले प्रोत्साहन भत्ता उपलब्ध गराइएको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री खाणले प्रहरी संगठनभित्र सकल दर्जाका कर्मचारीहरूलाई आदरार्थी शब्द प्रयोग गर्ने निर्देशन दिएका छन् ।

दलित समुदायका व्यक्तिहरूले प्रहरी कार्यालयबाट पाउने सेवा सुविधा छिटोछरितो र सहज रूपमा प्राप्त गर्नका तथा दलित व्यक्तिहरूसँग सम्बन्धित मुद्दा मामिलामा सहजीकरण गर्न सामाजिक सहायता कक्षको व्यवस्था गरिएको छ ।

Published : Thursday, 2022 February 3, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया