मन्त्री कार्कीलाई अपमान गर्ने कम्युनिस्टलाई औकातमा बस्न डा.अन्सारीको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा.अबुल हुसैन अन्सारीले एमालेको भ्रातृ संगठन अनेरास्ववियूले कांग्रेसका नेता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई गरेको दुर्व्यवहारको भर्त्सना गरेका छन् ।

बुधबार प्रेस नोट जारी गरेर नेविसंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका डा.अन्सारीले अनेरास्ववियूले कानूनलाई हातमा लिएर मन्त्री कार्कीविरुद्ध गरेको हर्कतको विरोध जनाएका हुन् । उनले भने, ‘एमाले र अनेरास्ववियूलाई हामीले पनि जवाफ दिन जानेका छौं । हामी कम्युनिस्ट जस्तो गैह्रजिम्मेवार छैनौँ ।’

डा.अन्सारीले भनेका छन्, ‘ज्ञानेन्द्रबहादुर कार्की नेपाल सरकारका मन्त्री मात्रै होइन । सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित भएर आउनुभएको हाम्रो जनप्रतिनिधि पनि हो । उहाँलाई हुने अपमानको बदला लिने तागत सुनसरीका जनतासंग छ ।’

अनेरास्ववियूका कार्यकर्ताले मन्त्री कार्कीप्रति गरेको व्यवहार निन्दनीय रहेको भन्दै डा.अन्सारीले प्रतिकारका लागि आफूहरू तयार रहेको चेतावनी दिएका छन् ।

कुनै पनि बहानामा कानूनलाई हातमा लिएर गुण्डागर्दीमा उत्रेका अनेरास्ववियूलाई आफ्नो औकात र हैसियतमा बस्न उनले चेतावनी दिएका छन् ।

मंगलबार कालोझण्डा देखाउने बहानामा ललितपुरको पुल्चोकमा मन्त्री कार्की चढेको गाडीलाई बीच सडकमा रोकेर एमालेको अनेरास्ववियूले अपमान गरेको थियो । यो कार्यको चौतर्फी विरोध भएको छ ।

Published : Wednesday, 2022 February 2, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया