कांग्रेस केन्द्रीय सदस्य बुढाद्वारा डा.अन्सारीको निःशुल्क प्यारासिटामोल वितरणको प्रशंसा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले कोरोना महामारीका बेला डा.अबुल हुसैन अन्सारीद्वारा प्यारासिटामोल औषधि निःशुल्क वितरण भएकोमा प्रशंसा गरेका छन् ।
काठमाडौंको बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको मूलगेट अगाडि डा.अन्सारीले प्यारासिटामोल औषधि निःशुल्क वितरण गर्दै आएका छन् ।
डा.अन्सारीको सो कार्यको प्रशंसा गर्दै केन्द्रीय सदस्य बुढाले महामारीका बेला सरकार एक्लैले केही गर्न नसक्ने बताए । उनले भने, ‘नागरिकहरूको सहयोग र समर्थनले सरकारले कोरोना महामारीलाई परास्त गर्न सक्छ । प्यारासिटामोल औषधि निःशुल्क वितरण गरेर मानवसेवाको काम भएको छ ।’
प्यारासिटामोल निःशुल्क वितरण गर्ने कार्यलाई अभाव भएका जिल्लाहरूमा पनि विस्तार गर्न कांग्रेस नेता बुढाले डा.अन्सारीलाई सुझाव दिएका छन् ।
डा.अन्सारीले विभिन्न जिल्लाहरूबाट प्यारासिटामोलको माग भएको जानकारी दिए । उनले ती जिल्लाहरूमा प्यारासिटामोल आफूले पठाएको समेत बताएका छन् ।
कोरोना महामारीका बेला केही औषधि उद्योगी र व्यापारीहरूले प्यारासिटामोलको अभाव सिर्जना गरेर मूल्य बढाउन खोजेका छन् ।
प्यारासिटामोलको एउटा ट्याबलेटलाई एक रुपियाँ मात्रै पर्छ । औषधि व्यापारीहरूले एक रुपियाँ पर्ने प्यारासिटामोललाई मूल्य बढाएर तीन रुपियाँ बनाउन खोजेका छन् ।
प्यारासिटामोल उत्पादन गर्दा फाइदा नहुने भएपछि औषधि उत्पादक कम्पनीहरूले थोरै मात्र प्यारासिटामोल उत्पादन गर्ने गरेका छन् । सोही कारण प्यारासिटामोलको अभाव बजारमा भएको छ ।
यसअघि, डा.अन्सारीको प्यारासिटामोल निःशुल्क वितरण गर्ने अभियानलाई कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले उद्घाटन गरिदिएका थिए ।
काठमाडौं उपत्यकामा प्यारासिटामोल कसैले पाएन भने बिहान १० बजेदेखि ४ बजेसम्म बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको मूलगेट अगाडि जाँदा प्यारासिटामोल निःशुल्क पाउँछन् ।
डा.अन्सारीले गत वर्षको कोरोना महामारीका बेला कोरोनाका बिरामीको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभिर औषधि बंगलादेशबाट मगाएर नागरिकको उपचारमा सहयोग गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया