आईजीपी क्षेत्रीद्वारा दंगा प्रहरी गण गण्डकीको निरीक्षण, प्रहरी नियमावलीको बचाउ

बेलचौतारा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेस थापा क्षेत्रीले व्यारेकलाई सधैं घर जस्तो मान्नुपर्ने बताएका छन् ।

आइतबार नेपाल प्रहरीको गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गणको कार्यालय, बेलचौतारा, तनहुँमा निरीक्षण भ्रमणका क्रममा क्षेत्रीले व्यारेकप्रति भावनात्मक कार्य सबैमा हुन जरुरी रहेको बताएका हुन् । उनले निजामती कर्मचारी र प्रहरी कर्मचारीको काम कर्तव्यमा धेरै फरक रहेको बताएका छन् ।

आईजीपी क्षेत्रीले प्रहरी नियमावली २०७१ तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको हितमा रहेको बताएका छन् ।

‘प्रहरी नियमावली २०७१ नवौं संशोधनमा नेपाल प्रहरीका तल्ला दर्जाका प्रहरी कर्मचारीहरू हितमा रहेकोले सामाजिक सञ्जालमा आउने प्रहरीविरुद्धको समाचारहरूलाई विश्वास नगर्नु होला’, उनले भनेका छन् ।

उनले भने, ‘आफू सेवाग्राही हुँदा प्रहरीबाट जुन किसिमको व्यवहारको अपेक्षा गरिन्छ त्यही अनुसारको नम्र शिष्ट व्यवहार आउने सेवाग्राहीलाई गर्नुपर्छ ।’

‘आर्थिक प्रलोभनमा नगर्ने, भाईचारा व्यवहार नगर्ने’, आईजीपी क्षेत्रीले निर्देशन दिँदै भनेका छन्, ‘महिला प्रहरी कर्मचारीहरूलाई सभ्य र शिष्ट बोली व्यवहार प्रयोग गर्नुपर्छ ।’

नेपाल प्रहरीले प्रयोग गर्ने पिटी जुत्ताको सट्टा स्पोर्टस जुत्ता र उनी कम्बल भन्ने शब्दको सट्टा मिन्क कम्बलको प्रयोगमा ल्याउनुपर्ने क्षेत्रीले निर्देशन दिएका छन् ।

आईजीपी क्षेत्रीले गण्डकी प्रदेशको गणमा पहिलाभन्दा धेरै संरचनामा सुधार भएको भन्दै गणका प्रमुख एवम् प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीलाई विशेष धन्यावाद दिएको प्रेस नोटमा उल्लेख छ ।

‘पहिलाभन्दा संरचनामा धेरै सुधार भएको छ’, आईजीपी क्षेत्रीले भनेका छन्, ‘यति छोटो समयमा पनि सबै कुराको व्यवस्थित, राम्रो गरेको हुँदा आगामी दिनहरूमा पनि राम्रो गर्दै जानु होला ।’

आईजीपी क्षेत्रीले गणमा कामहरू व्यवस्थित ढंगबाट भएको भन्दै सम्पूर्ण अन्य कर्मचारीहरूलाई समेत धन्यावाद दिएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीको समेत उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 January 30, 4:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया