ख्यालठट्टाका नाममा वा गोप्य भिडियो बनाएर अपलोड गरे कारबाही हुने
काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक स्थलहरूमा व्यक्तिको जथाभावी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरी टर्चर दिनेमाथि कारबाही गर्ने भएको छ ।
बिहीबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर अनुमतिविना जथाभावी भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्य गर्नेमाथि कारबाही हुने चेतावनी दिएको हो ।
ख्यालठट्टाको नाममा वा गोप्य रूपमा सार्वजनिक स्थलहरूमा कसैको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेक्रम बढेपछि गृहको ध्यानाकर्षण भएको जनाएको छ ।
बिनाअनुमति भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न गृहले निर्देशन पनि दिएको छ ।
यस्तो कार्यले सर्वसाधारणलाई शारीरिक र मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने, दिक्दार लगाउने गरेको गृहले जनाएको छ ।
गृह मन्त्रालयले गोप्य भिडियो तयार पारी उक्त भिडियो फुटेज सामाजिक सञ्जालमा राख्नेलाई कारबाही हुने चेतावनी दिएको छ ।
सार्वजनिक स्थलहरूमा हुने यस्ता भद्दा प्रकृतिका ख्यालठट्टाबाट केही व्यक्ति सिकार भएको र ती व्यक्तिमा मानसिक तनाव देखिने गृहको विज्ञप्तिमा उल्लेख छ ।
भिडियोहरूले समाजमा झै–झगडा, वादविवाद, द्वन्द्वजस्ता घटना हुन सक्ने भएकोले गृहले सतर्क गराएको छ ।
‘व्यक्तिको गोपनीयता र प्रतिष्ठानमा समेत असर पर्ने भएकाले व्यक्तिको अनुमतिबिना कुनै भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रङ्कका नाममा उत्तेजित र अपमान हुने तथा यौनक्रियाकलाप झल्किने भिडियोहरू बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने कार्य भएपछि गृह मन्त्रालयले रोक्न आदेश दिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया