प्रहरीको अर्धवार्षिक कार्य प्रगतिको समीक्षा

काठमाडौं । नेपाल प्रहरीले आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक कार्य प्रगति समीक्षा गरेको छ ।

सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा भर्चुअल रुपमा समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

प्रहरीको सकृयताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक प्रगति भएको तथ्याङ्कले देखाएको चर्चा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सवारी दुर्घटना, लैंगिक हिंसाका घटनाहरूको न्यूनीकरण तथा अनुसन्धान एवम् हिरासत व्यवस्थापनमा अझ संवेदनशील तथा गम्भीरताका साथ परिचालन हुनुपर्नेमा जोड दिएका छन् ।

उनले नागरिक सेवा एवम् मुलुकमा शान्ति सुव्यवस्था कायम गर्दै वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न तथा कोभिड–१९ महामारीको समयमा समेत प्रहरी कर्मचारी विचलित नभई कार्य सम्पादन गर्न भर्चुअल रुपमा उपस्थित सबै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

पीडितले समयमै न्यायको आभाष गर्न सकेको अवस्थामा प्रहरीप्रतिको उनीहरूको भरोसा बढेर जाने भएकोले त्यसप्रति संवेदनशील भई कार्य गर्नुपर्ने महानिरीक्षक क्षेत्रीले बताएका छन् ।

मुद्दाको अनुसन्धान पश्चात अदालतमा गर्नुपर्ने बकपत्रको विषय समेत अत्यन्तै संवेदनशील हुने भएकोले त्यसप्रति सचेत भई कार्यसम्पादन गर्नुपर्ने उनले बताएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार काम कारवाही गर्न गराउन उल्लेख गर्दै प्रहरी महानिरीक्षक क्षेत्रीले कोभिड–१९ को जोखिम न्यूनीकरण तथा रोकथामको लागि सबै प्रहरी कर्मचारीहरू थप क्रियाशील हुनुपर्ने बताए ।

Published : Monday, 2022 January 24, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया