सशस्त्र प्रहरीले मनायो २१औँ दिवस

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २१औं सशस्त्र प्रहरी दिवस–२०७८ मनाएको छ ।

आइतबार बिहान प्रधान कार्यालय, हल्चोक, स्वयम्भुमा दिवस मनाइएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनलाई एक अब्बल सुरक्षा निकायको रुपमा स्थापित गर्ने सिलसिलामा शहीद भएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीहरूको योगदान तथा त्यागको स्मरण गरेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले ‘वर्ष जवान–२०७८’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार पारस खाम्चालाई ‘वर्ष जवान’को ट्याग प्रदान गरेका छन् ।

महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा समेत गर्नुभएको उक्त विशेष समारोहमा देशभरका एकाईहरूमध्ये सर्वोत्कृष्ट ठहरिएका तालिम शिक्षालय, गण हेक्वा, गुल्म हेक्वा तथा बोर्डर आउट पोष्टलाई रनिङ्ग अवार्ड समेत प्रदान गरेका छन् ।

अमर सशस्त्र प्रहरीका ७२ जना सन्ततिहरूको शिक्षाको लागि वार्षिक रुपमा उपलब्ध गराउने गरिएको छात्रबृत्ति रकम तथा १२ कक्षा उत्तीर्ण भई उत्कृष्ट अंक ल्याउने बहालवाला, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तत्ती २४ जनालाई छात्रवृत्ती स्वरुप उपलब्ध गराईएको नगद कल्याण्कारी सेबा केन्द्रबाट उनीहरूको बैक खातामा जम्मा गरिएको छ ।

७० वर्ष पूरा भएका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई जनही १२ हजारको दरले तथा वर्षभरि गम्भिर रोगले ग्रस्त भई उपचार गराई रहेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूको परिवारजन गरी ७५ जनालाई नगद सहयोग समेत उनीहरूको बैक खातामा जम्मा गरिएको छ ।

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले ब्रेन ट्युमरबाट पीडित सशस्त्र प्रहरी कर्मचारीको परिवार सिजन सुनारलाई नगद ५० हजार रुपियाँ सहयोग प्रदान गरेकी छिन् ।

Published : Sunday, 2022 January 23, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया