प्रहरीको टाइगर टोलीका दुई प्रहरी नै पक्राउ
काठमाडौं । मोबाइल चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कैलालीले दुईजना प्रहरीलाई निलम्बन गरेर कारबाही शुरु गरेको छ ।
कैलाली जिल्लाको धनगढीस्थित ग्लोबल मोबाइल ग्यालरीमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि बुधबार जिल्ला प्रहरी कार्यालयको टोली कारोबारमा संलग्नलाई पक्राउ गर्न मोबाइल पसल पुगेको थियो ।
प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतबहादुर बुढाले पसलबाट एक/एकवटा मोबाइल चोरेको सिसिटिभीको फुटेज सार्वजनिक भएपछि पक्राउ गरेर कारबाही चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीन विष्टले जानकारी दिए ।
दुईजनालाई निलम्बन गरिएको र उनीहरूविरुद्ध अदालतमा फौजदारी अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको विष्टले बताएका छन् ।
मोबाइल पसलबाट चोरी भएका मोबाइल पनि माल र बुढासँग बरामद गरिएको एसपी विष्टले बताए ।
चोरीमा संलग्न दुवै प्रहरी जिल्ला प्रहरी कार्यालयले तत्काल रेस्पोन्सका लागि गठन गरेको टाइगर टोलीमा कार्यरत थिए ।
प्रहरीले उक्त पसलबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको थियो ।
मोबाइल पसल सञ्चालक द्रोणबहादुर रावल, धनगढी उपमहानगरपालिका–२, का टेकबहादुर विष्ट र मनीष भण्डारीलाई पक्राउ गरिएको छ ।
उनीहरूको साथबाट एक ग्राम पाँच सय ५० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका तीन जनाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया