हाँस्यकलाकार राजाराम पौडेल राजावादी पार्टीमा प्रवेश

काठमाडौं । हाँस्य कलाकारद्वय राजाराम पौडेल र सन्तोष पन्त ‘नेपाली दल’ नामक राजनीतिक पार्टीमा समाहित भएका छन् ।

बालकृष्ण न्यौपाने अध्यक्ष रहेको नेपाली दलले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ‘परिवर्तनका लागि नागरिक आन्दोलन कार्यक्रम’ घोषणा समेत गरेको छ । नेपाली दल राजसंस्था ल्याउन गठन भएको हो ।

पत्रकार सम्मेलनमा सन्तोष पन्त देखिएका थिएनन् । तर, पन्तलाई भारतमा आन्दोलनको संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।

हास्य कलाकार पौडेललाई सह–संयोजकको जिम्मेवारी दिइएको छ ।

नेपाली दलले वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीको संयोजकत्वमा फागुन १७ गतेबाट ‘परिवर्तनका लागि नागरिक आन्दोलन’ नामक कार्यक्रमको घोषणा गरेको छ ।

हाँस्यकलाकार राजाराम पौडेलले नेपालमा आन्दोलन नगरेर कुनैपनि राम्रो काम हुन नसेकेको भन्दै आन्दोलनको विकल्प नरहेको बताए ।

उनले अहिलेका राजनीतिक दलमा रहेकाहरुलाई आफुले नेता नभइ खुत्रुके भनेर सम्बोधन गर्ने बताए ।

‘खुत्रुके भर्नुहोस् तर, समय आएपछि हामीले त्यसलाई फुटाएर देश र जनताको लागि प्रयोग गर्नेछौं’, उनले भनेका छन् ।

पौडेलले कलाकारिता क्षेत्रमा रहेका सम्पूर्णलाई नेपाल रह्यो भनेमात्र नेपालको कलाकार रहने भन्दै पार्टीको झण्डा नभएर देशको झण्डा बोक्न अनुरोध गरेका छन् ।

Published : Friday, 2022 January 21, 5:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया