अराजक मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग अधिकारकर्मीहरूको माग

काठमाडौं । अधिकारकर्मीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेका छन् ।

शुक्रबार डा.केदारनरसिंह केसीसहितका अधिकारकर्मीले संयुक्त विज्ञप्ति जारी गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री यादवलाई बर्खास्त गर्न माग गरेका हुन् । उनीहरूले मन्त्री जस्तो पदमा बसेर हिंसात्मक अभिव्यक्ति दिएको भन्दै विरोध जनाएका छन् ।

मन्त्री यादवले गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिँसा फैलाउने अभिव्यक्ति दिएकी थिइन् । अधिकारकर्मीहरू मन्त्री यादवको अभिव्यक्तिप्रति आफूहरूको गम्भीर आपत्ति रहेको जनाएका छन् ।

चर्चित गौर हत्या काण्ड २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा घटाइएको सामूहिक हत्या थियो ।

जसमा २८ जना माओवादी समर्थक व्यक्तिहरूले अनाहकमा जीवन गुमाउनुपरेको थियो ।

‘वर्वर र पाशविक यस हत्याकाण्डका अभियुक्तलाई न्यायको कठघरामा अझैसम्म उभ्याउन नसकिएको र समाजमा दण्डहीनता कायमै रहेको अवस्थामा मन्त्री रेणु यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलको समेत सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘मन्त्री यादवले माघ ५ गते आयोजित सोही कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतको नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएको तथ्यसमेत प्रमाणित हुने श्रव्य–दृश्य सामग्री सार्वजनिक भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनैपनि पदमा रहन अयोग्य भएको यसबाट स्वतः स्पष्ट हुन्छ’, अधिकारकर्मीहरूले भनेका छन् ।

‘बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो’, विज्ञप्तिमा उल्लेख छ ।

‘मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति सार्वजनिक भएको तीन दिनसम्म नेपाल सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले यस्तो हिंसात्मक सोच र कार्य संघीय सरकारको धारणा हो कि होइन भन्ने गम्भीर प्रश्न समेत पैदा भएको छ’, उनीहरूले भनेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा कानुनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैं लिनु अति आवश्यक छ ।’

‘अतः हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं’, अधिकारकर्मीहरूले माग गरेका छन् ।

विज्ञप्ति जारी गर्नेमा डा.केदानरनरसिंह केसी, चरण प्रसाइँ, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, ईन्द्र अर्याल, महामुनीश्वर आचार्य, कनकमणि दीक्षित रहेका छन् ।

Published : Friday, 2022 January 21, 3:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया