ओलीको रोजाइमा एमाले समर्थक एआईजी थापा, चितवन पुगेरै गुन लगाउने
काठमाडौं । तत्कालीन कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बनाएका सहकुलबहादुर थापा एमालेको सुरक्षामा खटिने भएका छन् ।
मंसिर १० गते चितवनमा हुन लागेको एमालेको राष्ट्रिय सम्मेलनको सुरक्षा गर्न प्रहरी मुख्यालयले एआईजी थापालाई खटाएको प्रहरीका प्रवक्ता एवम् एसएसपी बसन्त कुँवरले बताएका छन् ।
स्रोतका अनुसार एमालेका अध्यक्ष ओली र नेता महेश बस्नेतसहितका नेताहरूको आग्रहमा एआईजी थापालाई एमालेको सुरक्षामा खटाउने निर्णय भएको छ ।
संयोग नै मान्नुपर्छ एआईजी थापा, ओली र बस्नेतको घर भक्तपुर जिल्लामा नै पर्छ । उनीहरूका बीच निकै निकटको सम्बन्ध रहेको चर्चा हुने गरेको छ ।
प्रहरीमा जागिर खानुभन्दा अगाडि थापा एमालेकै कार्यकर्ता थिए । थापा एमालेको सांस्कृतिक संगठनमा रहेको जनाइएको छ ।
प्रहरीमा जागिर सुरु गरेपछि थापाले एमालेसँग दुरी बनाएका हुन् । एमालेप्रति माया र सद्भाव देखाएकै कारण ओलीले प्रधानमन्त्री पद फुत्किनुभन्दा केही घण्टा अगाडि थापालाई डीआईजीबाट रातारात एआईजी बनाएका थिए ।
प्रहरीभित्र थापाभन्दा सक्षम डीआईजी हुँदाहुँदै ओलीले उनलाई नै एआईजी बनाएको चर्चा हेडक्वाटरमा हुने गरेको छ ।
चितवनमा एआईजी थापाको नेतृत्वमा प्रहरी परिचालन हुनेछ ।
एमालेको राष्ट्रिय महाधिवेशनको सुरक्षामा नेपाल प्रहरी बाहेक विभिन्न सुरक्षा निकायहरू खटिनेछन् । एमालेको महाधिवेशनमा सुरक्षा दिन सजिलो होस् भनेर एमाले समर्थक सुरक्षाकर्मीलाई नै खटाइएको स्रोतले जनाएको छ ।
एआईजी थापाले बिहीबारबाट चितवनमा बसेर महाधिवेशन सुरक्षाको कमाण्ड गर्नेछन् ।
सशस्त्र प्रहरीले गण नम्बर–१७ का गणपति दिपक थापाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया