बाग्लुङ कांग्रेसमा केन्द्रीय सदस्यनै पराजित, सांसद र सभापतिसहित यी ठूला हरुवाहरूको जमानत जफत

बाग्लुङ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

बाग्लुङको क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनमा केन्द्रीय सदस्य पौडेल पराजित भएका हुन् ।

बाग्लुङका जिल्ला सभापति दीपेन्द्रबहादुर थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । थापा सभापतिमा उम्मेदवार बन्ने तयारी गरेका थिए । महाविधेशनमा पराजित भएपछि सभापति बन्ने सपना तुहिएको छ ।

महाधिवेशन प्रतिनिधिमा पराजित केन्द्रीय सदस्य पौडेल र सभापति थापा सभापति शेरबहादुर देउवा निकटका हुन् ।

गण्डकी प्रदेशकी सांसद कोपिला बोहोरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् । सांसद बोहरालाई दुर्गादेवी विश्वकर्माले पराजित गरेकी हुन् ।

केन्द्रीय सदस्य, सांसद र सभापतिको जमानत जफत हुने गरेर हारेको भन्दै बाग्लुङ कांग्रेसमा हाँसो भएको छ । आन्तरिक चुनावमा जमानत जफत हुने व्यवस्था छैन । तर, उनीहरूको हर्कत जमानत जफत हुने खालको भएको छ । कार्यकर्ताले सबक सिकाएका छन् ।

क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । सभापतिमा निर्वाचित शर्मा नेता रामचन्द्र पौडेल समूहका हुन् ।

सचिवमा जयराम भारी र गोविन्द पौडेल ‘गोपाल’, सह–सचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा ओमकार थापा, चिरञ्जीवी गौतम, जगदीशचन्द्र उपाध्याय, डिल्लीराम सुवेदी, नवराज पौडेल, प्रकाश पौडेल, प्रकाश आचार्य, मणिभद्र शर्मा कँडेल, हरिहर शर्मा र हरिप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

बागलुङको क्षेत्र नं. २ को सभापतिमा जोकलाल बुढा निर्वाचित भएका छन् । सभापति देउवा निकटका हुन् ।

Published : Wednesday, 2021 November 24, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया