भोजपुरमा भावुक बने राज्यमन्त्री श्रेष्ठ, जन्मस्थलमा महादेवको प्रतिमा स्थापना

भोजपुर । राज्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफ्नो गृहजिल्ला भोजपुरका विभिन्न कार्यक्रमहरूमा सहभागी भएका छन् ।

शनिबार आयोजित विभिन्न कार्यक्रममा सहभागी भएर राज्यमन्त्री श्रेष्ठले अन्तरक्रियाहरू गरेका हुन् । उनले भोजपुर जिल्लाको विकासमा आफूबाट जनप्रतिनिधि र राज्यमन्त्रीको तर्फबाट हुने सबै सहयोग गर्ने बचन दिएका छन् ।

उनले भने, ‘भोजपुरसँग मेरो आत्मा जोडिएको छ । भोजपुरसँग मेरो अलगसम्बन्ध छ । त्यो सम्बन्धका कारण भोजुरको विकासमा सबै शक्ति प्रयोग गर्न तयार छु ।’

राज्यमन्त्री श्रेष्ठले आफ्नो जन्मस्थल भोजपुर नगरपालिका–९, कैलाशडाँडामा महादेवको १० फिट अग्लो प्रतिमा स्थापना गरेका छन् । भगवान महादेव प्रतिमामा उनले विधिवत् पूजा सम्पन्न गरेका छन् ।

उनले जन्मस्थल दावाँका स्थानीयहरूसँग अन्तरक्रिया पनि गरेका छन् । ‘यहाँको माटोमा अतुलनीय स्नेहभाव पाउँछु’, राज्यमन्त्री श्रेष्ठले भने, ‘न्यानो स्वागत र स्नेहका लागि हार्दिक नमन छ ।’

राज्यमन्त्री श्रेष्ठले जिल्ला अस्पताल भोजपुरमा स्थापना भएको अक्सिजन प्लान्टको पनि उद्घाटन गरेका छन् ।

नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यालयको पहलमा चुजी फाउण्डेसन, ताइवानबाट भोजपुर जिल्ला अस्पतालका लागि उपलब्ध गराइएको ४० सिलिन्डर क्षमता भएको अक्सिजन प्लान्टको राज्यमन्त्री श्रेष्ठले उद्घाटन गरेका हुन् ।

यसैबीच, राज्यमन्त्री श्रेष्ठले भोजपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरूसँग पनि परामर्श गरेका छन् । उनले भोजपुरका उद्योगी व्यवसायीहरू समस्या सुनिसकेपछि समाधानतर्फ आफूले पहल गर्ने समेत उल्लेख गरेका छन् ।

आफ्नो गृहजिल्ला र जन्मस्थल आएपछि राज्यमन्त्री श्रेष्ठ भावुक बनेको स्थानीयले बताएका छन् । राज्यमन्त्री श्रेष्ठप्रति स्थानीय नेता कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूले भव्य स्वागत गरेपछि भावक बनेका थिए ।

Published : Saturday, 2021 October 9, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया