वाणगंगाद्वारा पिपरामा गिट्टी–ढुंगा बोकेका टिप्परसँग अबैध असुली धन्दा सञ्चालन

पिपरा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले प्रशोधित गिट्टी, ढुंगा, बालुवा बोकेका टिप्पर र ट्रकहरूसँग अबैध रुपमा असुली धन्दा चलाएको खुलासा भएको छ ।

नगरपालिकाले पिपारामा कर्मचारीहरू राखेर बाहिरका जिल्लाबाट प्रशोधित गिट्टी, ढुंगा र बालुवा बोकेर गन्तव्यतिर जान हिँडेका सवारी साधनसँग बुधबार बिहान अबैध असुली गरेपछि वाणगंगा नगरपालिकाको अबैध धन्दाको खुलासा भएको हो ।

नगरपालिकाले पिपरामा अबैध असुली गरेपछि विरोध भएको छ । कानून विपरीत कर उठाएपछि सरोकारवालाहरू नगरपालिकाको हर्कतविरुद्ध कानूनी उपचार खोज्ने पक्षमा छन् ।

अर्को जिल्लाबाट आएका प्रशोधित बालुवा, ढुंगा र गिट्टीको कर नगरपालिकाले उठाउन पाउँदैन । व्यवसायीहरूले स्थानीय तहलाई राजश्व तिरेर काम गरेका हुन्छन् । वाणगंगाले दोहोरो कर उठाएपछि हँगामा भएको छ ।

आफ्नो नगरपालिकाभित्रको करका विषयमा नगरपालिका वा गाउँपालिकालाई अलग्गै कानूनी व्यवस्था छ ।

बाहिरी जिल्लाबाट पूर्वपश्चिम महेन्द्र राजमार्गको पिपरामा नगरपालिकाले कर्मचारी राखेर कर उठाएर आतंक फैलाएको आरोप छ ।

नगरपालिकाले फुटमा १ रुपियाँका दरले कर उठाउने गरेको छ । एउटा टिप्पर वा ट्रकबाट कम्तिमा पनि ४ देखि ५ सय रुपियाँसम्म कर उठाउने गरेको छ ।

वाणगंगा नगरपालिकाका प्रवक्ता विष्णप्रसाद पौडेलले बाहिरी जिल्लाबाट आएका सवारी साधनबाट प्रशोधित गिट्टी, बालुवा र ढुंगा वापत कर उठाउने नीति नरहेको बताएका छन् ।

पौडेलले भने, ‘हामीले हाम्रो नगरपालिकाभित्रको गिट्टी, ढुंगा र बालुवाको कर उठाउने निर्णय गरेका छौँ । बाहिरी जिल्लाबाट आउने गिट्टी, ढुंगा र बालुवाट कर उठाउने नीति छैन । उठाएको रहेछ भने रोक्छौँ । कर उठाएको प्रमाणसहित आएमा पैसा फिर्ता गर्छौं ।’

Published : Wednesday, 2021 September 8, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया