वडा कार्यसमितिहरू कांग्रेसको मेरुदण्ड : सचिव खाण
भैरहवा । नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले वडा कार्यसमितिहरू कांग्रेस पार्टीको मेरुदण्ड रहेको भन्दै नवनिर्वाचित वडा सभापतिसहितका पदाधिकारीलाई बधाइ र शुभकामना दिएका छन् ।
रुपन्देही जिल्लाको क्षेत्र नं. ३ ‘ख’ को कांग्रेसको कार्यसमितिले मंगलबार शुद्धोधन गाउँपालिकाको फर्साटिकमा आयोजना गरेको शुभकामना तथा बधाइ कार्यक्रमलाई सम्बोधन गर्दै खाणले वडा कार्यसमितिहरूबाट कांग्रेसले नयाँ जीवन पाउने बताए ।
नवनिर्वाचित वडा सभापतिले पार्टीलाई बलियो बनाउन ठूलो योगदान रहने भन्दै वडा सभापतिहरूबाट कांग्रेसले धेरै अपेक्षा राखेको बताए । उनले वडा अधिवेशनका बेला भएका तितामीठा कुरा र लोकतान्त्रिक प्रक्रियालाई भुलेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘सहमति हुन नसकेका वडामा लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व आउनुभएको छ । यो प्रजातान्त्रिक प्रक्रियालाई सहज रुपमा लिनुपर्छ’, सचिव खाणले भने, ‘सहमति, सहकार्य र मेलमिलापले नै कांग्रेसलाई बलियो बनाउन सकिन्छ । आगामी निर्वाचानहरूमा जित्न सकिन्छ ।’
नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य एवम् गरिखाने अभियानका लुम्बिनी प्रदेशका संयोजक विमल ढकालले वडा अधिवेशनले कांग्रेसलाई स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा जित्न ठूलो मद्दत मिल्ने बताए । उनले मिलेर जाँदा नै कांग्रेसको हित हुने भन्दै सानातिना कुरालाई १४औँ महाधिवेशनबाट अन्त्य गर्नुपर्ने बताए ।
नेता ढकालले वडा तह भनेको कांग्रेसको आधार स्तम्भ रहेको भन्दै क्षेत्रीय प्रतिनिधिहरूले अब सबैलाई मिलाएर लैजान सक्ने नेतृ चयन गर्नुपर्ने बताएका छन् । उनले कांग्रेसको केन्द्रीय नेतृत्वमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतलाई मिलाउन सक्ने व्यक्तित्वलाई जिताउन सुझाव दिएका छन् ।
कार्यक्रममा रुपन्देही क्षेत्र नं. ३ ‘ख’का १८ वटा वडा कार्यसमितिका सभापतिहरूको उपस्थिति रहेको थियो । उनीहरूले कांग्रेसको संगठन निर्माणमा आफूहरूले हदैसम्मको गृहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा प्रदेश सभामा उम्मेदवार बनेका कांग्रेस नेता हरिध्वज मल्ल, क्षेत्रीय सचिवहरू सुशील गुरुङ, घनश्याम चालिसे र जोखबहादुर खत्री, कांग्रेस नेता बेदनिधी रिजाल, शुद्धोधन गाउँपालिका– ३ का नेपाली कांग्रेसका वडा सभापति रामप्रसाद पाण्डे लगायतले कांग्रेसलाई वडा अधिवेशनले एकताबद्ध बनाएर लैजाने धारणा राखेका थिए ।
प्रदेश सभा कार्यसमितिका सभापति कृष्णबहादुर विष्टको सभापतित्व तथा सचिव उमाकान्त चापागाइँले कार्यक्रमको सञ्चालन गरेका थिए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया