मुस्ताङ जानेलाई नयाँ नियम, सबैले पाए खोप, निषेधाज्ञा हट्यो

जोमसोम । मुस्ताङ जिल्लामा पाँच महिनापछि निषेधाज्ञा हटेको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो ।

अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र संक्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सरोकारवालाहरूको सुझावअनुसार कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले मुक्तिनाथ मन्दिरबाहेक सबै क्षेत्र खुलाउने निर्णय गरेको जानकारी दिएका छन् ।

मुस्ताङ भित्रिनका लागि विदेशी नागरिकलाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

निषेधाज्ञा हटाएपछि पोखरा–जोमसोम हवाई सेवा, लामो तथा छोटो दूरीका यातायात, पर्यटन क्षेत्र, होटल तथा रेष्टुराँ, मेला–महोत्सव, शैक्षिक संस्था र सेवा प्रदायक संघसंस्थाको गतिविधि निर्वाधरूपमा सञ्चालन हुनेछन् ।

आन्तरिक पर्यटकले अनिवार्य खोप कार्डका साथै ४८ घण्टे एन्टिजेन रिपोर्ट साथमा लिएर आउनु पर्नेछ ।

Published : Wednesday, 2021 September 8, 7:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया