सर्वोच्चको आदेश विपरीतको हर्कत गर्न खोजेपछि मेयर चिरिबाबुसँग ललितपुरका सीडीओ रिसाए

पुल्चोक । नेपाली कांग्रेसका नेता समेत रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले कपुपण्डोल–जावलाखेल सडकखण्डको पुल्चोकमा पर्ने समय फल्चा (पाटी) पुनर्निर्माणको काम सर्वोच्च अदालतको आदेश विपरीत अगाडि बढाउन खोजेपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रिसाएका छन् ।

पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय अगाडि रहेको मूल सडकको चोकमा रहेको समय फल्चा सडकको मापदण्डभित्र परेपछि आवागमन र पैदल यात्रुलाई हिँडडुल गर्न कठिनाइ हुँदै आएको छ ।

सडक विभागको मापदण्डभित्र पर्ने कुनै पनि संरचना नबनाउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ । मेयर महर्जनलाई सडक मापदण्डभित्र पाटी पर्छ भन्ने कुरा राम्रोसँग जानकारी छ । यसअगाडि सडक विभागदेखि विभिन्न सरोकारवाला निकायले महानगरपालिकालाई सडक मापदण्डभित्रको संरचना नबनाउन आदेश दिएसकेका छन् ।

मेयर महर्जनले सर्वोच्च अदालतको आदेशलाई अपब्याख्या गर्ने गरेको बुझिएको छ । मेयर महर्जनसँग प्रतिक्रिया लिन सोमबार मोबाइलमा सम्पर्क गर्दा उठाएनन् । महानगरपालिकाका प्रवक्ता राजु महर्जनको मोबाइल पनि अफ थियो । मेयर र प्रवक्ताले कहिल्यै पनि फोन उठाउँदैनन् । फोन नउठाउने उनीहरूको हर्कतबाट ललितपुर कांग्रेस नेता कार्यकर्ता आजित छन् ।

मेयर महर्जनले ३० लाख खर्च गरेर सडकको मापदण्डभित्र पर्ने समय फल्चा अर्थात पाटी पुनर्निर्माणको काम अगाडि बढाएपछि स्थानीयहरूले रहस्यका रुपमा हेरेका छन् । महर्जनले पुनर्निर्माणको काम अपारदर्शी रुपमा गर्न लगाएको आरोप पनि छ ।

मेयर महर्जनलाई सडकको मापदण्डभित्र नपर्ने काम गर्न कसैले पनि रोकेको छैन । मेयर महर्जनका यस्तै हर्कतले ललितपुर कांग्रेसभित्र चर्चा हुने गरेको छ । मेयर महर्जनको चर्तिकला र फोन नउठाउने कार्यले कांग्रेसका ठूला–ठूला नेता र मन्त्रीहरू समेत आजित छन् ।

सडक आवागमन र पैदल यात्रुलाई नै हिँडडुलमा समस्या पर्ने गरेर पुनर्निर्माणको काम अगाडि बढाउन खोजेपछि ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले सर्वोच्चको आदेश र सडक विभागको मापदण्ड विपरीतका कुनै पनि संरचना नबनाउन महानगरपालिकालाई भनेका थिए ।

मेयर महर्जनले सीडीओ निरौलाको आदेशलाई पनि आलटाल गरेर राजनीतिक दवाव दिएर सडक विभागको मापदण्ड विपरीत पाटी पुनर्निर्माणको काम अगाडि बढाउन खोजेका छन् । स्रोतका अनुसार मेयर महर्जनले सीडीओ निरौलालाई विभिन्न राजनीतिक नेताहरूमार्फत दवाव सिर्जना गरेका छन् ।

सर्वोच्चको आदेश विपरीत चिरिबाबुको ‘आतंक’, ललितपुरका कांग्रेसीहरू लाजले भुतुक्क

Published : Monday, 2021 August 16, 3:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया