कांग्रेस नेता गुरुङले मनाङमा हेलिकप्टरबाट राहत ल्याएर बाँडे, ५ सयभन्दा धेरै परिवार खुसी

मनाङ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले गृहजिल्ला मनाङका बाढीपहिरो पीडितलाई खाद्यान्नसहित लत्ताकपडा सहयोग गरेका छन् ।

मनाङ कांग्रेसका सभापति समेत रहेका गुरुङले सोमबार हेलिकप्टरबाट चामल, तेल, दाल, लत्ताकपडाहरू ल्याएर नासो गाउँपालिका– १ तालमा ७१ घरपरिवारलाई राहत वितरण गरेका हुन् । मनाङ कांग्रेसका सचिव सुरेन्द्र गुरुङका अनुसार बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको जानकारी दिए ।

पूर्वमन्त्री गुरुङले प्रतिपरिवार एक बोरा चामल, एक लिटर खाने तेल, एक किलो दाल, लत्ताकपडाहरू प्रदान गरेका छन् ।

रातह तिवरणका क्रममा पूर्वमन्त्री गुरुङले मनाङमा समस्या पर्दा कांग्रेस अग्रपंक्तिमा रहेर सहयोग गर्ने बताए । ‘कांग्रेस मनाङका जनताको साथी हो’, गुरुङले भने, ‘हामीले बाढीपहिरो पीडितलाई सक्ने सहयोग गर्छौं । भत्किएका सडक र पुलपुलेसाहरू बनाउन सरकारलाई अनुरोध गर्नेछौँ ।’

राहत वितरण गर्न सभापति एवम् पूर्वमन्त्री गुरुङसँगै गण्डकी प्रदेशका सांसद चिन्ताबहादुर घले पनि गएका थिए । प्रदेश सांसद घलेले बाढीपहिरो पीडितका लागि सरकारबाट हुने सहयोगका लागि आग्रह गर्ने आश्वासन दिए ।

यसअघि, आइतबार मिस्याङ गाउँपालिकाको वडा नं. ५, ६, ७, ८ र ९ का पीडित परिवारलाई खाद्यान्नसहितको राहत पूर्वमन्त्री गुरुङले विरतण गरेका थिए । ४ सय जतिले सहयोग पाएका छन् । आइतबार र सोमबार दुई दिनमा पूर्वमन्त्री गुरुङले ५ सयभन्दा धेरै परिवारलाई प्रत्यक्ष सहयोग गरेका छन् ।

मनाङका बाढीपहिरो पीडितलाई जिल्ला सभापति एवम् पूर्वमन्त्री गुरुङ, प्रतिनिधि सभामा कांग्रेसका सांसद कर्मा घले र गण्डकी प्रदेशमा कांग्रेसका सांसद चिन्ताबहादुर घलेको निजी सहयोगमा खाद्यान्नसहितको सहयोग गरिएको मनाङ कांग्रेसका सचिव सुरेन्द्र गुरुङले बताए ।

मनाङ जिल्लाका सबै गाउँपालिकामा गरेर बाढीपहिरोबाट पीडित १५ सयभन्दा धेरै सर्वसाधारणलाई ३० लाख बराबरको राहत वितरण गर्ने कार्यक्रम रहेको पूर्वमन्त्री गुरुङले बताएका छन् ।

Published : Monday, 2021 August 2, 3:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया