कालोबजारी र महँगी नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन, चारआली पाइपलाइनको निरीक्षण

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले झापाको चारअलीमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको निरीक्षण गरेका छन् ।

मन्त्री यादवले पाइपलाइनमार्फत सिलिगुढीबाट सिधै नेपाल आउने पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आइतबार निरीक्षण गरेका हुन् ।

१५ किलोमिटर नेपालतर्फ र ३५ किलोमिटर भारततर्फ गरि जम्मा ५० किलोमिटर लम्बाई रहेको सो परियोजनाको निर्माण कार्य सम्पन्न भएपछि पाइपलाइन मार्फत सिधै नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति हुनेछ ।

निरीक्षणको क्रममा मन्त्री यादवले सर्भेको कार्य सम्पन्न भइसकेको र असोजदेखि सिलिगुढीको डिपोदेखि निगमको चारअलिस्थित भण्डारण गृहसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विछ्याउने कार्य सुरु हुने बताए ।

परियोजना जिटुजीमार्फत सञ्चालन हुने हुँदा दुबै देशको सरकारस्तरीय समन्वय हुन बाँकी रहेकाले त्यसको समेत पहल भइरहेको जानकारी दिए । ‘नेपाल आयल निगमले इन्धन ढुवानीका लागि क्रस बोर्डर पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनीयरिङ सर्भे सम्पन्न गरिसकेको छ’, मन्त्री यादवले भने, ‘प्रस्तावित परियोजना पूर्वी नेपालको महत्वपूर्ण र गौरवाको योजना हुनेछ ।’

उनले पाइपलाइनको माध्यमबाट भण्डारण गृहसम्म पेट्रोलियम पदार्थ आउन थालेपछि विगतमा हुँदै आएको चोरी निकासी र कर्मचारीको बदमासी समेत अन्त्य हुने विश्वास व्यक्त गरे । ‘विगतमा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ चोरी हुने गरेको धेरै गुनासो आउँथ्यो’, उनले भने, ‘अब त्यो रोकिन्छ, पारदर्शिता र सुशासन कायम भएको आमजनताले महसुस गर्नेछ ।’

परियोजना निर्माणका लागि करिब १२ अर्ब रुपैयाँ लागत लाग्ने उनले बताए । मेचीनगर नगरपालिका–१३ मा अवस्थित निगमको २३ बिघा जग्गामा भण्डारण गृह निर्माण भएसँगै प्रदेश १ मा ९० दिनलाई पुग्ने चार करोड लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने उनको भनाइ थियो ।

यसैबीच, मन्त्री यादवले कालोबजारी र महंगी नियन्त्रणका लागि प्रशासनलाई सक्रियता बढाउन निर्देशन दिएका छन् ।

मन्त्री यादवले आइतबार विराटनगरमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बजारमा भइरहेको कालाबजारी, महंगी नियन्त्रणलगायतको क्षेत्रमा तत्कालै कडाइ गर्न प्रशासनलाई निर्देशन दिएका हुन् ।

अन्तरक्रियामा सहभागी सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग र झापाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा प्रदेश १ का डिआईजी तथा सम्बन्धित कर्मचारीहरुलाई मन्त्री यादवले आमजनतालाई सहज हुने गरी बजारतर्फ विशेष ध्यान दिन निर्देशन दिए ।

उनले लडकाउन तथा सम्भावित बाढी पहिरोलाई ध्यानमा राखी बजारमा हुनसक्ने कृत्रिम अभावतर्फ विशेष ध्यान दिन जोड दिए । मन्त्री यादवले उपभोक्ता हितलाई ध्यानमा राख्दै व्यापारी तथा कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न पनि आग्रह गरे ।

Published : Monday, 2021 June 21, 8:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया