कांग्रेसले गुमायो लोकप्रिय नेता, देउवाको मन दुख्यो

काठमाडौं । नेपाली कांग्रेसले महाविधेशन प्रतिनिधि एवम् नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

कांग्रेसले बिहीबार शोक वक्तव्य जारी गरेर कपिलवस्तु कांग्रेसका महाधिवेशन प्रतिनिधि ५६ वर्षीय गैरेको निधनप्रति गहिरो समवेदना प्रकट गरेको हो ।

गैरेको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको थियो ।

कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ११ निवासी स्वर्गीय गैरेले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले स्मरण गरेको छ ।

‘स्वर्गीय गैरेले वैदेशिक रोजगारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनु भएको थियो’, शोक वक्तव्यमा भनिएको छ, ‘उहाँको निधनबाट पार्टीले एक होनाहार व्यक्तित्वलाई गुमाएको छ ।’

कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि गहिरो दुःख व्यक्त गरेका छन् ।

‘नेपालको लोकतान्त्रिक आन्दोलन र वैदेशिक रोजगारको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको सक्रिय योगदानको स्मरण गर्नेछौँ’, सभापति देउवाले गैरेप्रति भावपूर्ण श्रद्धाञ्जलि दिँदै भनेका छन् ।

‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरोतर्फबाट गहिरो समवेदना प्रकट गर्दछु’, देउवाले भनेका छन् ।
गैरे नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य समेत थिए ।

Published : Thursday, 2021 May 13, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया