कोरोनाका बेला खोपमा कमिशन खानेहरूलाई कारबाही गर्न देउवाको माग, बालुवाटारमा हलचल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप व्यवस्थापनमा कमिशनका कारण समयमा जनताले खोप लगाउन नपाएको भन्दै चिन्ता जनाएका छन् ।
सभापति देउवाले शुक्रबार विज्ञप्ति जारी गरेर कमिशन, भ्रष्टाचारमा चुर्लुम्म डुबेको वर्तमान सरकारले जनतको जीवन बचाउन गर्नुपर्ने तयारी नगरेको भन्दै आक्रोश पोखेका हुन् । उनले प्रर्याप्त समय हुँदा पनि सरकारले कोरोना रोकथाम, उपचार र व्यवस्थापनको तयारी नगरेको भन्दै आलोचना गरेका छन् ।
प्रधानमन्त्री केपी ओली निकटका व्यापारीहरूले दशप्रतिशत कमिशन मागेर समयमा कोरोनाविरुद्धको खोप ल्याउन नदिएकै कारण कोरोनाको महामारी बढेको भन्दै चिन्ता जनाएका बेला कांग्रेसले दोषीलाई कारबाहीको माग गरेको छ ।
‘समयमा कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गरेन । फलस्वरुप अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरूमा गणना भएको छ’, उनले भने ।
‘यस्तो अवस्था सृजना हुनमा यो सरकार पूर्ण रुपमा जिम्मेवार छ’, उनले भने, ‘अहिले कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ ।’
सभापति देउवाले भने, ‘सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होइन । जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो ।’
‘जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जीवनदायिनी औषधि (खोप)को भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ’, देउवाले भने, ‘सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु ।’
‘यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु’, उनले भने, ‘नेपाली जनताको जिवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको तत्काल व्यवस्था गर्न माग गर्दछु ।’
देउवाले कोभिड–१९ को महामारी दिनानुदिन विस्तार भइरहेको भन्दै दैनिक हजारांैको संख्यामा कोभिड–१९ का बिरामी थप हुँदै जाँदा पनि सरकार जिम्मेवार बन्न नसकेको बताए ।
देशभरिका अस्पतालहरूमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहितका आईसीयू बेड र औषधिको नितान्त अभाव भएको भन्दै व्यवस्था गर्न देउवाले आग्रह गरेका छन् ।
‘अक्सिजन नपाएर बिरामी छट्पटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनु परेको दयनीय घटना देखा परेका छन्’, उनले भने, ‘कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बावजुद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गरेन ।’
‘हाम्रो पार्टीले कोभिड–१९ को प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोग गर्ने प्रतिवद्धताका साथ समयमा नै नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानार्कषण गराउँदा पनि सरकार सचेत एवं गम्भीर भएन’, उनले भने ।
‘विज्ञहरूले कोभिडको पटक–पटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनि दिएको चेतावनीलाई सरकारले सुनेन’, उनले भने, ‘सरकारले नियन्त्रण र रोकथामका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको आफ्नो न्यूनतम जिम्मेवारी बोध गरेन ।’
देउवाले देशमा व्याप्त यस विषम घडीमा सबै दाजुभाई, दिदीबहिनीमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गरेका छन् ।
‘देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीहरूलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गर्दछु’, सभापति देउवाले भनेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया