ओली सरकार टिकाउन र एमाले मिलाउन चिनियाँ उच्चस्तरीय टोली काठमाडौंमा
काठमाडौं । विभाजनको संघारमा रहेको सत्तारुढ एमालेलाई मिलाउन चिनियाँ टोली फेरि सक्रिय भएको छ । चीनले यस पटक एमसीसीलाई रोक्ने सर्तमा एमालेको सरकार बचाउने आश्वान दिएको चर्चा छ ।
प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला चिनियाँहरू एमालेभित्रको विवाद मिलाउन सक्रिय भएको उच्च स्रोतले दाबी गरेको छ । ओली प्रधानमन्त्री बनेपछि चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आएको छ ।
एमालेभित्रको विवाद मिलाएर एमाले र माओवादी केन्द्रबीच कम्तिमा पनि कार्यगत एकता गराएर ओली सरकारलाई नै टिकाउने पक्षमा चिनियाँहरू रहेको दाबी एमालेका एक नेताले गरेका छन् ।
एमालेभित्रको विवाद मिलाउनका लागि चिनियाँ उच्चस्तरीय टोली काठमाडौंमा रहेको स्रोतको दाबी छ । चिनियाँ टोलीले ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउन सबै सूत्रहरूको परिचालन गरेको चर्चा छ ।
एमालेभित्रको विवाद मिलाएर ओली सरकारलाई टिकाउन चिनियाँहरूले ज्यान फालेर सक्रियता बढाएपछि चीनको राजनीतिक हस्तक्षेप बढेको भन्दै सामाजिक सञ्जालमा विरोध पनि हुन थालेको छ ।
चिनियाँ उच्चस्तरीय टोलीका विषयमा एमालेका ओली–नेपाल समूहले केही भनेका छैनन् । चीन निकट मानिने घनश्याम भुसालसहितका नेताहरूले ओलीलाई बिहीबार बालुवाटारमा भेटेका थिए । भेटमा योगेश भट्टराई पनि सँगै थिए ।
एमसीसीलाई रोक्ने सर्तमा ओली सरकारलाई बचाएर माओवादी केन्द्रसँग कार्यगत एकता गरेर जाने वातावरण निर्माण गरिदिने निष्कर्ष चिनियाँ टोलीले ओली–नेपाल समूहलाई सुनाएको स्रोतको दाबी छ ।
ओली पनि चिनियाँ पक्षको सर्तप्रति सकारात्मक रहेको स्रोतको दाबी छ । सत्ताका लागि ओलीले बेलाबेला एमसीसीको कार्ड खेल्ने गरेका छन् ।
चिनियाँ टोलीले पाँच वर्षको बाँकी अवधि एमालेको अध्यक्ष र प्रधानमन्त्री ओलीलाई बनाउन चाहेको चर्चा एमालेभित्रै हुन थालेको छ ।
वरिष्ठ नेता नेपाललाई महाधिवेशनपछि एमालेको अध्यक्ष र त्यसपछि प्रधानमन्त्री बनाउने प्रस्ताव पनि चिनियाँ टोलीले अगाडि सारेको छ ।
चिनियाँ उच्चस्तरीय टोली सक्रिय भएकै कारण बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच वार्ता भएको शुक्रबार दिनभरि चर्चा चलेको छ ।
एमालेभित्रको विवाद मिलाउन अर्थमन्त्री समेत रहेका एमालेका नेता विष्णु पौडेलले बिहीबार नागपोखरीको पाँचतारे होटेल मेरियटमा माधव नेपाल समूहका नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरूसँग वार्ता गरेका थिए ।
ओलीले पनि नेपाल समूहका नेताद्वय घनश्याम भुसाल र योगेश भट्टराईसँग बालुवाटारमा लामो सम्वाद गरेका थिए ।
हुन त एक वर्ष अगाडि पनि चिनियाँ उच्चस्तरीय टोली काठमाडौंमा आएर तत्कालीन वाम गठबन्धनलाई मिल्न ठूलो दवाव दिएको थियो । त्यस बेला एमाले र माओवादीलाई मिलाउन नसकेपछि चिनियाँ टोली फिर्ता भएको थियो ।
तर, चिनियाँ टोलीले एउटा उच्चस्तरीय टोलीलाई काठमाडौंमा छाडेको थियो । त्यसबारेमा राष्ट्रिय दैनिक पत्रिकाहरूले समेत समाचार लेखेका थिए ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले एमाले र माओवादीभित्रको विवाद मिलाउन यसअघि नेताहरूलाई घरघरमा भेट्नेदेखि राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेट गरेकी थिइन् । अहिले पनि यान्छी एमालेलाई मिलाउन सक्रिय रहेको चर्चा छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया