ओली सरकारको ‘साथी’ले पनि साथ छाड्यो, एक्लिएपछि दिक्क भयो बालुवाटार

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नराम्रोसँग एक्लिएका छन् ।

काठमाडौंमा मंगलबार बसेको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँग ओली एक्लिएका हुन् ।

स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको जानकारी दिएका छन् ।

पोखरेलले बुधबार बिहान समर्थन फिर्ताको पत्र बुझाउने बताए । ‘आज औपचारिक निर्णय भएको छ’, उनले भने, ‘भोलि कार्यालय समय शुरु हुनेवित्तिकै पत्र पठाएर जानकारी दिन्छौँ ।’

सरकारलाई दिएको समर्थन कायम राख्दा माओवादीको आलोचना भएको थियो । ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

समर्थन फिर्ता लिँदा प्रधानमन्त्री ओलीले पुनः संसद विघटन गर्नेभन्दै बाध्यात्मक अवस्थामा समर्थन कायम राखेको माओवादीले जनाउने गरेको थियो ।

माओवादी नेता पोखरेलले विश्वासको मत लिने प्रधानमन्त्री ओलीको निर्णयलाई संसद विघटन गर्ने अर्को षड्यन्त्र भएको बताएका छन् ।

Published : Tuesday, 2021 May 4, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया