माओवादी–कांग्रेससहितका दलको कुराले जिल परे शंकर पोखरेल, बालुवाटार–शीतल निवाससम्मै खैलाबैला

बुटवल । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी, राष्ट्रिय जनमोर्चासहितका दलका ४२ सांसदहरूले लुम्बिनी प्रदेशका प्रमुखलाई भेटेर एमालेका शंकर पोखरेललाई सपथ नगराउन माग गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चा नेपालका सांसदले प्रदेश प्रमुखलाई भेटेर अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेको भन्दै आफू पक्षका ४२ सांसदको हस्ताक्षर बुझाएका हुन् ।

८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद रहेको भनिए पनि उप–निर्वाचनबाट विजयी सांसद विमला वलीले आफू माओवादी केन्द्रमा जाने प्रस्ट पारेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेका छन् ।

एमालेको एकजना सांसद उप–सभामुख छन् । उप–सभामुख दलको बैठकमा सहभागी हुन नपाउने व्यवस्था छ ।

उप–सभामुखको हस्ताक्षर समेत एमालेले प्रदेश प्रमुखको बुझाएको छ ।

सभामुख र उप–सभामुख दुवैले दल त्याग गरेका कारण उनीहरू दलीय सदस्य हुँदैनन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुदीन खानले मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउने कुनै आधार नरहेको बताएका छन् ।

उनले विपक्षी दलसँग ४० सदस्य रहेको र नेकपा एमालेसंग ३९ जना सदस्य रहेको दावी गरेका छन् ।

कांग्रेस, माओवादीसहितका दलहरूले पोखरेलविरुद्ध बहुमत हस्ताक्षर बुझाएर सपथ रोक्न भनेपछि बालुवाटार र शीतल निवाससम्मै तरंग ल्याइदिएको छ ।

Published : Sunday, 2021 May 2, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया